अपाङ्गता भएका विद्यार्थीलाई काठमाडौं कै विद्यालयले भर्ना गर्न मानेन्

Post Thumbnail

मंसिर १८, काठमाडौं । अपाङ्गता भएका एक बालकको विद्यालय भर्ना हुने चाहना प्रधानाध्यापकका कारण पूरा हुन नसकेको आरोप लगाइएको छ । काठमाडौँमै यसरी बालक स्कूल जानबाट वञ्चित भएका छन्।

सरकारले सबैका लागि शिक्षा भन्‍ने नाराका साथ भर्ना अभियानसमेत चलाउँदै आएको छ। कोही पनि स्कूल जानबाट वञ्चित नहोस् भनेर सरकारले विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ।

सामान्य बालबालिकाभन्दा शारीरिक तथा मानसिकरुपमा प्रभावितका लागि त सरकारले विशेष व्यवस्था नै गरेको छ। तर पनि बालबालिका विभिन्न कारणले पढ्नबाट वञ्चित छन्।

राजधानीको भीमसेनगोलाका बालक रिसन मानन्धर त्यही पीडितमध्येका एक हुन्। राजधानीको भीमसेनगोलास्थित बाल विकास केन्द्रका प्रधानाध्यापक कै कारण उनले पढ्न नपाएको आमा रेनुकाले दुखेसो गरेका छ।

सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका बालबालिकाका लागि आफ्नो दायित्व तथा कर्तव्य बोध गरी केही विद्यालयको निर्माण गरेको छ । त्यसैमध्ये एक हो निर्मल बालविकास केन्द्र। केन्द्रको सम्पूर्ण दायित्व नेपाल सरकारले लिएको छ।

शारीरिक तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवन निर्वाह गर्न सजिलो होस् भनेर उनीहरुलाई यहाँ राखिएको हो। रेनुकाका सात वर्षीय छोरा रिसनको यो चाहना भने टुटेको छ।

रेनुका गृहणी हुन् भने बुबा सञ्जय प्राइभेट कम्पनीका गाडी चालक हुन् । उनीहरु डेरामा बस्छन्। सानैदेखि शारीरिकसँगै बौद्धिक अपाङ्गताले रिसनको उपचारमा रेनुकाले धेरै खर्च गरिन् । उनले आफैँ थेरापी सिकेर बच्चालाई थेरापी गराएपछि पनि सफल हुन सकेन।

संयोगवस उक्त बालविकास केन्द्रमा विदेशी दाताले अनुभवका आधारमा थेरापिष्टका रुपमा रेनुकालाई करारमा नियुक्ती दियो । उनले आफूसँगै छोरालाई पनि त्यही बालविकास केन्द्रमा लगिन्। छोरालाई भर्ना गर्न त्यहाँकी प्रधानाध्यापक ज्योति खनालसँग कुरा राखिन्। शुरुमा भर्ना गरेको बताए पनि राज्यले दिने सेवासुविधा पाउने समयमा भने प्रधानाध्यापक खनालले रिसनलाई भर्ना नगरेको खुलेको छ।

रेनुकाले सम्झँदै भनिन्, “प्रधानाध्यापकले तपाईको छोरा बौद्धिक अपाङ्गता होइन, यो रिपोर्टलाई म मान्दिन, मैले भनेको डाक्टरसँग जँचाएर रिपोर्ट ल्याउनुपर्छ भन्नुभयो ।” त्यसपछि उनलाई छाँगाबाट खसेजस्तो भयो। तै पनि उनले भनेकै डाक्टरकामा देखाएर ल्याएपछि प्रअ खनालले पुनः अर्को बाहना झिकेर बालक शारीरिक अपाङ्गता भएका छन् यो स्कूलमा बौद्धिक अपाङ्गताका लागि मात्रै हो भनेर जवाफ दिएको रेनुकाले दुखेसो गरिन्।

त्यसपछि स्कूलबाटै निकालेको रेनुकाले बताइन् । बौद्धिक अपाङ्गतासँग सम्बन्धित सङ्संस्थाको चिठी लिएर आउँदासमेत निकालेको उनले बताइन् । प्रअ खनालकै कारण राज्यले दिएको सेवा सुविधाबाट वञ्चित हुनुपरेको रेनुकाको आरोप छ ।

प्रअ खनालले रिसन बौद्धिक नभई शारीरिक अपाङ्गता भएका बालक भएको बताए। उनले उक्त केन्द्रमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको मात्र पढाइ हुने भएकाले भर्ना नगरेको जानकारी दिए । रिसन सुतिरहने र उठ्न नसक्ने अवस्थाका बालक भएकाले पनि भर्ना नगरेको उनले बताइन्।

उनले भनिन्, ‘यहाँ हिँड्नसक्ने बालबालिका तर बौद्धिक अपाङ्गता भएकालाई मात्र भर्ना गरिन्छ, रेनुकाले पुनः जागीरमा लगाउन भन्दै रिसले आरोप लगाएको हो, उहाँ करारमा हुनुहुन्थ्यो म्याद सकिएपछि जागीरबाट हटाइएको र त्यसपछि बालक भर्ना नगरेको बहानामा मलाई आरोप लगाइएको हो।’ रासस

ताजा अपडेट

खोजी गर्नुहोस