मंसिर २०, धनुषा । धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो सबस्टेसन जीआईएस प्रविधियुक्त तथा स्वचालित प्रकृतिको बन्दै छ ।
सबस्टेसनको निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुल ९४५ केभीए क्षमताका ट्रान्सफर्मर जडित उक्त सबस्टेसनले २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिने छ ।
वर्षायाममा बढी भएको ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न र वर्षात्मा बढी हुने विद्युत् भारत पठाएर इनर्जी बैङ्किङ गर्नसमेत बाटो खुल्ने बताए ।
उनले भने, ‘देशभित्रको आन्तरिक विद्युत् वितरण सुदृढ गर्न र नेपाल भारतबीच भएको इनर्जी बैङ्किङ कार्यान्वयन गर्न यो सबस्टेसनले सहज बनाउने छ । दुई मुलुकबीच इनर्जी बैङ्किङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । ढल्केवर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा सञ्चालनमा छ । ढल्केवरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुने छ ।
आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोङ्गरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याउने योजना छ । यसका लागि आयोजनाले गोङ्गर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । खिम्ती–ढल्केवर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।
नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपियाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केवर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । निर्देशक कुलमान घिसिङले मङ्गलबार निर्माण कार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । गाेरखापत्र दैनिकमा खबर छ ।