बेथितिको अखडा बन्दै स्थानीय सरकारः कार्यालय नगएको दिन पनि हाजिरी

Post Thumbnail

मंसिर २२, काठमाडौं । काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ। विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन् ।

ती अधिकृतहरूको मनोमानीका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् । ती अधिकृतहरू दैनिक कार्यालय त जाँदैनन् नै, गएका दिन पनि ढिलो गरी पुग्ने र समय सकिनुअगावै निस्कने प्रवृत्तिका कारण सेवाग्राही मात्र होइन, मातहतका कर्मचारीले समेत हैरानी बेहोर्दै आएका छन् ।

कर्मचारी नं. १

ललितपुरको महाँकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे काठमाडौंको थानकोटबाट दैनिक ५५ किलोमिटर दूरी पार गरेर कार्यालय ओहोरदोहोर गर्छन्। ग्रामीण सडक भएकाले गाडीबाट यो दूरी पार गर्न करिब चार–पाँच घन्टा लाग्छ। २६ कात्तिक २०७६ मा गोटीखेलस्थित गाउँपालिकाको कार्यालय पुग्दा उनी भेटिएनन्। तर त्यस दिन उनले रजिस्टरमा हाजिर गरिसकेको भेटियो। उनले अघिल्लो दिन नै भोलिपल्टको पनि हाजिर गरेका थिए।

कर्मचारी नं. २

ललितपुरको बाग्मती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य भक्तपुरको बालकोटमा बस्छन्। त्यहाँबाट भट्टेडाँडास्थित गाउँपालिका कार्यालयको दूरी झन्डै ५० किलोमिटर छ। बालकोटबाट गाडीमा कार्यालय पुग्न उनलाई कम्तीमा तीन घन्टा लाग्छ। त्यसैले उनी नियमित कार्यालय जाँदैनन्। निर्णय गर्नुपर्ने काम र हस्ताक्षर गर्नुपर्ने कागजात तयार पारेर अरू कर्मचारीले उनको टेबुलमा राखिदिन्छन्। उनी आफ्नो अनुकूलतामा त्यहाँ पुगेर कागजातमा सही गरेर घर फर्किन्छन्।

कर्मचारी नं. ३

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महत सुनाकोठीमा बस्छन्। घरदेखि ३५ किलोमिटर कच्ची बाटो पार गरेर कार्यालय पुग्न उनलाई साढे दुई घन्टा लाग्छ। कात्तिक १४ गते दिउँसो ३ बजे गाउँपालिका कार्यालय पुग्दा उनी भेटिएनन्। गाउँपालिकाका इन्जिनियर दिनेश सञ्जेलले प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको सुनाए।

कर्मचारी नं. ४

काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी भक्तपुरको लोकन्थलीका बासिन्दा हुन्। उनको घरदेखि कार्यालयको दूरी करिब ४५ किलोमिटर टाढा पर्छ। भण्डारी हप्तामा चार दिनभन्दा बढी कार्यालयमा भेटिँदैनन्। पाँचखाल वातावरण बचाउ अभियानका संयोजक सूर्यबहादुर भेटवाल भन्छन्, ‘सेवाग्राही १० बजेदेखि हाकिम कुरेर बसेका हुन्छन् तर हाकिमसाप १२ बजेअघि कार्यालय छिरेको देखिएको छैन। त्यो पनि सातामा तीन–चार दिन मात्रै।’

कर्मचारी नं. ५

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं भक्तपुरको गट्ठाघरवासी हुन्। उनको कार्यालय घरदेखि करिब ३२ किलोमिटरको दूरीमा पर्छ। त्यहाँ पुग्न चापागाईंलाई कम्तीमा डेढ घन्टा लाग्छ। मंसिर १ गते आइतबार दिउँसो पनौती नगरपालिका पुग्दा चापागाईं कार्यालयमा भेटिएनन्। उनको हाजिरी विवरण अरू कर्मचारीले देखाउन मानेनन्।

स्थानीय तहका कर्मचारी कार्यालयबाट टाढा बस्दा त्यसको सीधा असर सेवाग्राहीलाई परेको छ। टाढा बस्दा इन्धन र समयको खर्च त भएको छ नै, कार्यालयको काममा बाधा पुगेको छ। नागरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस