धादिङमा धान उत्पादनमा ह्रास

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २३, सोमबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

सन्तोष सुवेदी

मंसिर २३,धादिङ । आकाशे पानीको निर्भरता र रोपाई हुने क्षेत्रफल घटेका कारण धादिङमा धान उत्पादन घटेको छ । धानबाली लगाउने समयमा पानी नपर्ने, रोग लाग्ने, धानको बिउ नक्कली पर्ने, क्षेत्रफलको कमी लगायतका कारण धादिङमा धान उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा यस वर्ष करिव १५ हजार मेट्रिकटनले धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र धादिङका बालि सँरक्षण अधिकृत जयराम अधिकारीले जानकारी दिए । धादिङमा यस बर्ष ११ हजार २ सय ३६ हेक्टरमा धान रोपाईँ भएकोमा उत्पादन ३७ हजार ७९ मेट्रिक टन भएको छ । यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव तीन टन रहेको छ ।

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका र थाक्रे गाउँपालिका बाहेक अन्य स्थानहरुमा धानमा कुनै समस्या नदेखिएको र उजुरी पनि नपरेको अधिकृत अधिकारीले जानकारी दिए । उजुरी परेका दुई वटै गरिमा जातको नक्ली बिउको रहेको र यस बारे अनुसन्धान भईरहेको बताए ।

गत बर्ष १३ हजार ६ सय हेक्टरमा धान रोपाईँ भएको थियो । जसमा उत्पादकत्व ५२ हजार ३ सय ४५ मेट्रिक टन भएको थियो । यो बर्ष करिव ८३ प्रतिशत मात्र धान रोपाईँ भएको थियो । उहाँका अनुसार खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै जानु, पानी नपर्नु, बाढीपहिरो, असिनापानी र धानमा विभिन्न रोग र कीराको प्रकोप लगायत कारण धान उत्पादन घटेको हो ।

किसानको आधुनिक खेतीतर्फको बढ्दो आकर्षण साथै परम्परागत खेती छाडेर व्यावसायिक रूपमा हाइव्रिड धानखेती सुरु गरेसँगै रोगको प्रकोपले गिरावट र समग्र उत्पादनमा कमी आएको छ । किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् ।

उत्पादन भएको धान चामल, चिउराका लागि जिल्ला बाहिर उच्च माग रहँदै आएको छ । धादिङमा उत्पादन भएको धान छिमेकी जिल्ला काठमाण्डौ, रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस