फास्टट्र्याक सुरुङ निर्माण चार वर्षमा सक्ने

मंसिर २४, काठमाडौं । काठमाडौं/तराई/मधेस द्रूतमार्ग (फास्टट्र्याक) निर्माण तीव्र गतिमा चलिरहेको छ । २०८१ वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित द्रूतमार्गमा काम अघि बढिरहेको सेनाले जनाएको हो ।

द्रूतमार्ग आयोजनाबारे जानकारी दिन भद्रकालीस्थित जंगी अड्डामा सोमबार आयोजित पत्रकार सम्मेलनमा द्रूतमार्ग आयोजना प्रमुख प्राविधिक सहायकरथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्ममा सम्पन्न हुने जानकारी दिए । उनका अनुसार सो मार्गमा सबैभन्दा जटिल काम सुरुङ निर्माण रहेको छ । चार वर्षभित्र सुरुङ बनिसक्दा सबै काम सकिने छ ।

‘यो आयोजनको जटिल काम भनेकै सुरुङ निर्माण हो, दुबै तर्फबाट गरी सुरुङको काम चार वर्षभित्र सक्ने लक्ष्य छ,’ आयोजना प्रमुख श्रेष्ठले पत्रकारसम्मेलनमा भने, ‘सुरुङ बनिसक्दा अरु सबै निर्माण काम पनि सकिने छ ।’

नेपाली सेनाले सुरुङपछि जटिल मानिएको ठूला पुल निर्माण २०७७ पुसमा सुरु गरेर २०८० मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । द्रूतमार्गमा रहने कुल ८७ पुलमध्ये यस्ता पुल १६ वटा छन् । ती पुल निर्माण विदेशी कम्पनीले निर्माण गर्ने छन् ।

त्यस्तै, अन्य ७१ पुल निर्माण भने नेपाली निर्माण कम्पनीले नै गर्ने छन् । यी पुल २०७७ भदौमा सुरु गरेर २०८० पुसमा निर्माण गरिसक्ने सेनाको लक्ष्य छ । राजधानी दैनिकमा खबर छ ।

संम्बन्धित समचार

Leave a Reply