१६ वर्षमै वर्ष व्यक्ति बनिन् ग्रेता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ मंसिर २६, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २६, काठमाडौं । आफ्ना लागि मात्रै होइन भावी पुस्ताका लागि पनि पृथ्वी जीवन यापनका लागि योग्य छोड्न पर्ने र त्यसका लागि तत्काल जलवायु परिवर्तन विरुद्ध एकीकृत प्रयास गरिनु पर्ने भन्दै अभियानमा जुटेकी किशोरी हुन् ग्रेता थुनबर्ग । स्वीडेनकी १६ वर्षे किशोरी ग्रेतालाई यो वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनित समेत गरिएको थियो ।

उनले संयुक्त राष्ट्रसंघका महत्वपूर्ण सम्मेलनहरुमा विश्वका नेताहरु सामुन्ने उनीहरुले जलवायु परिवर्तनको असर कम गर्नका लागि पर्याप्त काम नगरेको भन्दै आलोचना गरेकी छन् र उनले गर्ने आलोचनाका स्वरहरु रोकिएका छैनन् । उनी एक्लैले सुरु गरेको ‘क्लाइमेट स्ट्राइक’ अहिले विश्वव्यापी अभियान बनेको छ ।

त्यसो भन्दैमा ग्रेतालाई सबैले रुचाएका छन् भन्ने होइन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहितले उनको आलोचना गर्ने गरेका छन् ।

तर ग्रेताले ती आलोचनाहरुको वास्ता नगरी पृथ्वीको वातावरण मानव तथा प्राणी, वनस्पतीका लागि अनन्तः कालसम्म उपयुक्त बनाइरहनु पर्ने अभियानमा जुटेकी छन् । यहि निरन्तरको अभियानका कारण प्रशिद्ध अमेरिकी म्यागजिन ‘टाइम’ ले उनलाई वर्ष व्यक्ति २०१९ घोषित गरेको छ ।

टाइम म्यागजिनले वर्ष व्यक्तिका रुपमा चयन गरेका मध्ये ग्रेता यो सम्मान पाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । टाइम म्यागजिनले सन् १९२७ देखि हरेक वर्ष विश्वव्यापी रुपमा प्रभाव पार्न सफल व्यक्तिलाई वर्ष व्यक्तिका रुपमा चयन गर्ने गरेको छ ।

टाइम म्यागजिनले उनलाई वर्ष व्यक्ति घोषित गर्नु पूर्व स्पेनको राजधानी मड्रिडमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै ग्रेताले विश्वका नेताहरुले जलवायु परिवर्तनको असर कम गरी पृथ्वी जोगाउनका लागि वास्तविक काम नगरी मात्रै व्यक्तिगत सम्बन्धहरु स्थापित गरेको बताएकी थिइन् । अबको दशकलाई ‘प्लानेटस् फ्युचर’ का रुपमा परिभाषित गरिनु पर्ने उनले बताइन्।

गएको वर्ष ग्रेताले जलवायु परिर्वतनको असर कम गर्न माग गर्दै हरेक शुक्रबार स्कूल छोडेर स्वीडिस संसदको अगाडि धर्ना बस्न सुरु गरेकी थिइन् ।

अहिले उनले सुरु गरेको क्लाइमेट स्ट्राइक विश्वव्यापी बनेको छ र हरेक शुक्रबार किशोरकिशोरी तथा युवा एवम् सबै उमेरका व्यक्तिहरुले त्यसमा सहभागिता जनाउने गरेका छन् । सो अभियानले हाल चर्चित ह्यासट्याग फ्राइडेफरफ्युचर का रुपमा समाजिक सञ्जालमा पनि स्थान पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस