मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान गइसकेको र अन्य हताहत रहेको बताए । ‘डीएसपीले मलाई दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले भने ।
प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् ।