उत्तर कोरियालाई नेपालको पनि आर्थिक नाकाबन्दी !

मंसिर ३०,काठमाडौँ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले भने, ‘नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रूपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।’

उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। दरबारमार्गस्थित राइजिङ मलमा रहेको बोटाङगाङ रेस्टुरेन्टमा कार्यरत नौ उत्तर कोरियाली आइतबार फर्किएका छन्।

उनीहरू आइतबार बिहान हिमालय एयरको जहाजबाट चीनको राजधानी बेइजिङ हुँदै उत्तर कोरिया गएका हुन्। ६ जना मंसिर ८ मा आफ्नो देश गएका थिए। अध्यागमन विभागले बाँकीलाई नेपाल छाड्न पुस ४ अर्थात् डिसेम्बर २० को समयसीमा तोकेको छ।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले उत्तर कोरियाली लगानीका सम्पूर्ण उद्योग बन्द गराइएको बताए। ‘त्यस्ता उद्योग अब न दर्ता हुन्छन् न नवीकरण नै’, महानिर्देशक सिटौलाले भने।

नेपालमा खोलिएका उद्योगको नाफा उनीहरूले आफ्नै मुलुकमा पठाउने गरेका थिए। नेपाललगायत अन्य मुलुकबाट कमाएको रकम उत्तर कोरिया पुर्‍याएर आणविक हतियार बनाउन प्रयोग हुन सक्ने आशंका राष्ट्रसंघले गरेको थियो। उसले तिनीहरूका उद्योग बन्द गराउन नेपालसहित अन्य सदस्य राष्ट्रलाई आग्रह गर्र्दै आएको थियो।

उत्तर कोरियालाई निशस्त्रीकण बनाउने प्रयासस्वरूप राष्ट्रसंघले कडा आर्थिक नाकाबन्दी लगाएको हो। उत्तर कोरियालीले नेपालमा आफ्नो देशको दूतावासमार्फत प्योङयाङसम्म पैसा पठाउने गरेको नेपालस्थित राष्ट्रसंघीय कार्यालयका एक अधिकारीले बताए।

संम्बन्धित समचार

Leave a Reply