काँग्रेसभित्र संस्थापन र पौडेल पक्षबीच शक्ति आर्जन गर्ने होडबाजी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ३०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ३०,काठमाडौँ । नेपाली काँग्रेसभित्र अब हुने १४ औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो ।

संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।

अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित भएनन् । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर छन् । कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित भएको जानकारी पार्टी सचिवालयले दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय पनि सार्वजनिक गरेको छ तर सङ्गठनलाई दूरगामी असर पर्ने खालका निर्णय भने गरिएको छैन । बैठकमा उपसभापति विमलेन्द्र निधिले शनिबार राति दुवै पक्षबीच भएको छलफल सहमतिनजिक पुगिएको जानकारी गराएका थिए । सभापति देउवाले उपसभापति निधिलाई सहमतिको वातावरण बनाउने जिम्मेवारी सुम्पिएका हुन् ।

यसैगरी उपसभापति विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले सरकारका गतिविधि, सङ्घीय संसद्को अधिवेशन, उपनिर्वाचनको नतिजा, पार्टीका गतिविधिका बारेमा बैठकलाई जानकारी गराएका थिए । बैठकपछि केन्द्रीय सदस्य खाँणले काँग्रेसमा सहमति जुट्छ र एकढिक्का भएर अगाडि बढ्छ, त्यसका लागि छलफल चलिरहेको जानकारी दिए ।

नेता खाँणले भने, ‘काँग्रेस जनताको हकहित र संविधानको रक्षा गर्न एकजुट भएर लाग्छ, सरकारले ल्याउन लागेको संवैधानिक परिषद् र अन्य कानुनका विषयमा बैठकमा गम्भीर छलफल भएको छ, बम विस्फोट लगायतका विषयमा बैठकले निर्णय पनि गरेको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस