संसद् अधिवेशन आजदेखि : पक्ष र प्रतिपक्ष दुवैको सहमतिमा उपसभामुखले नै अध्यक्षता गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ४, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ४, काठमाण्डौ । शुक्रबार सँसद् अधिबेशन सुरु हुँदैछ । उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन् । सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन ।

संविधानको धारा ९१ को उपधारा ४ मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ । यस्तो अबस्थामा शुक्रबार सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता भने उपसभामुखले नै गर्ने टुंगो लागेको उनको सचिवालयले जनाएको छ ।

नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तासीन नेकपा तयार भएको हो । संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी उपसभामुखले अध्यक्षता गर्दा कुनै बाधा नपर्ने तर्क गर्छन् । अर्का संविधानविद् एवं नेकपाका सांसद रामनारायण बिडारी पनि संविधानभन्दा नियमावली ठूलो नहुने भएकाले उपसभामुखले बैठकको अध्यक्षता गर्न पाउने बताउँछन् ।

यौन दुव्र्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुख तुम्बाहाङफेले प्रतिनिधिसभाबाट पारित ५ विधेयक प्रमाणीकरण गरेकी छैनन् । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ । नेकपाभित्र कसलाई सभामुख बनाउने टुंगो नलागेको नेताहरू बताउँछन् । प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ४ मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ’ भन्ने व्यवस्था छ । सँसद अधिबेशन शुक्रबार आज अपरान्ह ४ बजे बस्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस