नेपाल ट्रष्टको जग्गा लिज प्रकरण, गैरकानुनी नभएको पुष्टि

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ पौष ५, शनिबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गाको लिजमा दिने लिने प्रकृया कानुनी रूपमै गरिएको पुष्टि भएको छ । ट्रष्टले २०७३ असार १४ मा सूचना प्रकाशित गरी लिजमा दिनका लागि टेन्डर आव्हान गरेको उक्त जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले टेन्डर बोलकबोल पूरा गरी लिज प्राप्त गरेको नेपाल ट्रष्टको कागजातबाट पुष्टि भएको हो ।

नेपाल ट्रष्टको कार्यालयले काठमाडौँ महानगरपालिका-१ स्थित दरबारमार्गमा रहेको कि नं ४६०६ को क्षेत्रफल १-१४-०-० को जग्गा प्रतिस्पर्धाबाट बढी रकममा प्राप्त गरेको देखिएको छ । साख स्टील इण्डष्ट्रीज र अदृष्यरलियन जे।भि।ले पनि टेन्डर फारम भरेका थिए । तर थामसेर्कुले झण्डै दोब्बर रकम बढी कबोल गरेपछि टेन्डर प्राप्त गरेको ट्रष्ट कार्यालयको भनाइ छ । थामसेर्कुले एक अर्ब ४० करोड १० लाख ८६ हजार ७५ रूपैयाँ कबोल गरेको थियो भने दोस्रोमा साख स्टील इण्डष्ट्रीजले ६२ करोड २४ लाख ५८ हजार ८ सय १६ र अन्तिममा अदृष्यरलियन जे।भिले २६ करोड २८ लाख रूपैयाँ कबोल गरेका थिए ।

प्रकाशित टेण्डरअनुसार उक्त जग्गा बढी कबोल गर्ने थामसेर्कुले ३० वर्षको लिज प्राप्त गरी २०७४ जेठ १४ मा नेपाल ट्रष्टको कार्यालयबाट लिज सम्झौता गरेको थियो । ट्रष्टले टेण्डर सूचनाको सर्तअनुसार निर्माण अवधि ३ वर्षसम्म वार्षिक भाडाप्रति वर्ष ५० लाख र निर्माणअवधि समाप्त भएपछि वार्षिक भाडा रकम ४ करोड ५० लाख रूपैयाँ बुझाउने सम्झौता गरेको छ । थामसेर्कुले काठमाडौँ महानगरपालिकाबाट २०७४ पुस ३० मा नक्सा पास गरी करिब ५० करोड लगानीमा निर्माण सम्पन्न गरी गत साउन १४ मा महानगरबाट निर्माण सम्पन्नको प्रमाणपत्र प्राप्त गरिसकेको थामसेर्कुका दिपेन्द्र बस्नेतले बताए । निर्माण र भाडामा ठूलो लगानी खर्च भएपनि त्यसबाट आम्दानी भने हालसम्म भएको पाइएको छैन ।

लिज सम्झौताको सर्तअनुसार प्रत्येक ५,५ वर्षमा लिज सम्झौताको भाडा रकममा ५ प्रतिशतका दरले बृद्धि हुँदै जाने र लिज अवधि ३० वर्ष समाप्त भएपछि कम्पनीले सम्पूर्ण भौतिक संरचना नेपाल ट्रष्टको कार्यालय बुझाउनु पर्ने हुन्छ । ठूलो लगानी भएकाले तत्कालै कम्पनीले आम्दानी गरी नाफा कमाउने देखिदैन ।

ट्रष्टलाई बुझाउने रकम एक अर्ब ५९ करोड २० लाख ९१ हजार ७ सय १ र भौतिक संरचना निर्माणमा खर्चेको ५० करोड गरी २ अर्ब बढी थामसेर्कुले खर्च गरिसकेको छ । लगानीकर्ताहरू बैंकबाट लिएको ऋण उकास्न समस्या हुने भन्दै नयाँ योजना बनाउने तयारीमा जुटेको स्रोतको भनाई छ । तर सरकारलाई भने लिज सम्झौताले प्रतिवर्ष राजस्ववापत करिब ४ देखि ५ करोड रूपैयाँ प्राप्त हुने छ ।

बोलकबोलमा टेन्डर पारे पनि लिज प्रकृया गलत भएको भनेर बजारमा हल्ला फैलिएको प्रति थामसेर्कु ट्रेकले आपत्ति जनाएको छ । थामसेर्कुले भवन निर्माण गर्न १२ करोड ६७ लाख ६९ हजार ९ सय ४१, सेवा सुविधा र विविधवापत ६ करोड ६१ लाख ९५ हजार ९ सय ८६ र भाडा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँ गरी कुल एक अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ कबोल गरी टेन्डर दर्ता गराएको ट्रष्टको कार्यालयबाट प्राप्त भएको छ । तर नेपाल ट्रष्टको कार्यालयको कमजोरीका कारण कबोल रकमलाई अन्य अर्थ लगाएर प्रतिवर्षका दरले गुणा गरी कुल ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रूपैया बनाएर सम्झौता गर्न २०७३ फागुन २८ मा थामसेर्कुलाई पत्र काटेको पाइएको छ ।

थामसेर्कुले आफूले कबोल गरेको रकम ६ अर्बको नभएको भन्दै सम्झौता नगर्ने भनी २०७३ फागुन २४ गते ट्रष्टको कार्यालयलाई पत्र बुझाएको भेटिएको छ। ट्रष्ट कार्यालयले वास्ताविकता छानबिन गरेपछि थामसेर्कुको कबोल रकम १ अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ रकममै लिज सम्झौता गर्न २०७४ बैसाख ६ गते पुन पत्र पठाएपछि काम अघि बढाएको प्रमाण भेटिएको छ । तर गलत प्रचार बढी भएको भन्दै लिज प्राप्त गर्ने कम्पनीले वास्ताविकता बुझ्न समेत सबैलाई विज्ञप्तिमार्फत् आग्रह गरिसकेको छ ।

भ्रम सिर्जना गराएर बद्नाम गराउन ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रकमको सम्झौता भनी गलत प्रचार भएको छ। यो रकमप्रति आना करिब २५ करोड हुन आउछ, यो पत्याउन सकिने विषय नभएको थामसेर्कुको तर्क छ । दरबारमार्गमा भाडादर मात्र २५ करोड बुझाएर लिज लिन आउने कोही भए सम्पर्क गर्न समेत भ्रम सिर्जना गराउनेप्रति थामसेर्कुले अनुरोध गरेको छ । ‘आउनुस् हस्तान्तरण गर्न तयार छु’ थामसेर्कु स्रोतले भन्यो । सामान्य विषयलाई सम्भावना भन्दामाथि बनाएर प्रकाशन गर्नु सञ्चार जगतले पनि सोच्नुपर्ने विषय भएको र जबर्जस्त खबर बनाउनुको पछि केही स्वार्थ भएको हुनसक्ने थामसेर्कुले आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस