पौष ९, काठमाण्डौँ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन गर्न थालेका छन् । यस अघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् । मेयर शाक्यले आफू निर्वाचित भएर आएपछिका साढे २ वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएका हुन् । यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, वडाध्यक्ष शुद्धकुमार ढंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख डा उत्तरकुमार रेग्मी र वडाका सरोकारवालाहरुसहित अनुगमनका क्रममा मेयर शाक्यसँग स्थानीयले विभिन्न खाले गुनासा गरेका थिए । मेयर नै विकास निर्माणको कामबारे जानकारी राख्दै घर दैलोमा आएको भन्दै धेरैले खुशी पनि व्यक्त गरेका थिए । मेयर शाक्यसहितको टोलीले महानगरपालिका दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाल लगायतका स्थानको अनुगमन गरेको थियो ।