राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदानस्थल तोकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ११, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ११,काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा मत मतदान गर्ने गरी मतदान केन्द्र तोकेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोग बैठकले सो निर्णय गरेको हो ।
प्रमुख आयुक्त थपलियाले भने– सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सोही स्थानको उपयुक्त ठाउँमा जिल्लाको सिफारिसका आधारमा तोकिएको छ ।

साथै आयोगले बिहीबार नै राष्ट्रिय सभा सदस्यका मतदाताहरुको संख्या पनि सार्वजनिक गरेको छ । जसअनुसार, सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल जम्मा दुई हजार ५६ जना मतदाता रहेका छन् ।

सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रदेश १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता छन् ।

प्रदेश २ को धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहततर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता छन् ।

प्रदेश ३ को ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् ।

यसैगरी, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता छन् ।

प्रदेश ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता छन् ।

कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्ति नारायण उच्च मा.वि.मा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस