सन्तोष सुवेदी
पौष १२, धादिङ । धादिङ थाक्रे की सरस्वति कार्कीको परिवार अहिले शोकमा छ । सधैँ साथै बस्ने छोरा गुमाउँदाको पिडा आमा सरस्वतिको मनले थाम्न सकेको छैन । “नौ महिना सम्म कोखमा राखेर जन्माएको छोराको लाश आँखै अगाडी आफ्नै आँखाले हेर्नु पर्दाको पिडा कसरी ब्यक्त गर्नुँ ?” सरस्वति भन्छिन्, “छोरो यसरी मृत भेटिएला भन्ने कुरा मनचित्तैमा थिएन, छोराको शरिर पुरै जलेको छ, चिन्न नसक्ने अबस्थामा बनमा भेटिएको छ, “कसैले मारेको पो हो कि ?” नत्र कसरी जलेको अबस्थामा भेटियो त ? सरस्वति प्रश्नमा प्रति प्रश्न गर्दै भन्छिन् “घरबाट १ किलोमिटर मात्र पर जँगलमा १५ दिनको दिनमा मृत भेटिएको छोरा मारेर फालेको पोष्टमार्टम रिपोर्टले देखाएको छ, अब हामीलाई न्याय कस्ले दिन्छ ?” सरस्वति भक्कानिईन् ।
गाउँमा दसैँ आयो अनि तिहार पनि आयो, सबैको घरमा रमाईलोे थियो । सरस्वतिको घरमा पनि कम्ति रमाईलो थिएन । कहिले ट्रक त कहिले ट्रिफरमा हिँडिरहने छोरा घरमै थियो । काका जीवन कार्की, बुवा शरण कार्की, आमा सरस्वति कार्की लगायत आफन्तको सल्लाह बमोजिम अब लाईसेन्स बिना सवारीमा नहिँड्ने सल्लाहलाई आत्मसाथ गरेर सन्तोष कार्की ६ महिना देखि घरमै बस्दै आएका थिए । सन्तोष कार्कीले पनि बहिनी सबिना कार्कीको हातबाट भाइ टिका लगाए । सबैमा खुसि छाएकै थियो । दसैँ तिहार लगायत सबै चाडपर्व सँगै मनाएर सकिए ।
जाडो सुरु भयो । जाडो सुरु भएको धेरै भएकै थिएन, जाडो महिनाको मँसिर सुरु भयो । धेरैका घरमा बिहे, भोज अनि ब्रतबन्ध हुने समय । त्यहि समय जहाँ सरस्वतिका छोरा हराए । मँसिर २४ गते सन्तोष कार्की हराएसँगै गाउँमा खैलाबैला मच्चियो । बाहिर गएर त्यति धेरै नबसेको छोरा, सामान्यतया गाडीमा सहचालकको रुपमा गाडी सिक्दै गरेका सन्तोष गाउँबाट सम्पर्क बिहिन भएपछि धेरै ठाउँमा खोजियो ।
प्रहरीलाई खबर पनि गरियो तर पत्ता लागेन । गाउँका सबै ठाउँ, आफन्त, सन्तोषका साथी शँका लागेको ठाउँ सबै खोजियो तर छोरा भेटिएन । मन बाँधेर अनि काँपेर बस्नु बाहेकअर्को विकल्प निस्किएन । सन्तोष हराएको १५ दिनपछि धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ घलेगाउँको गणेशथान नजिकको जंगलमा शव जलेको अबस्थामा भेटियो । घरभन्दा एक किलोमिटर मात्र टाढा । घरको कर्सो भन्दा फरक नपर्ने । छोराको लास जलेको अबस्थामा भेटियो भन्ने खबर पाउँदा बुवा शरण कार्की र आमा सरस्वतिको मन भाँचियो । हत्तपत्त गाउँका सबैजना लास भए ठाउँमा गए । ईलाका प्रहरी कार्यालय गजुरीबाट पनि पुलिस आयो । चिन्नै नसक्ने गरि जलेको त्यो लास सबैले हेरे । प्रहरीले मुचुल्का उठायो अनि पोस्टमार्टमका लागी काठमाण्डौँ लगीयो ।
लास देख्ने सबैले मारेकै हो भनेर अड्कल गरे । अड्कल सत्य निस्कियो । तर कसले मारेको हो ? कसैलाई थाहा भएन । प्रहरीले पोष्टमार्टम रिपोर्ट देखाउँदै भन्छ, “शव मारेर फालेको ४र५ दिनमा फेरी गएर मट्टिेतेल छर्केर पुन : शव जलाएको डाक्टरको भनाई छ ।” पोष्टमार्टम रिपोर्टले यसरी मारेको हो भन्ने पुष्टि गरेसँगै गाउँ घटनाप्रति झन् सशँकित बनेको छ । “तपाईलाई शँका लागेको ब्यक्तिहरुलाई अनुसन्धानका लागी जाहेरी दिनु प्रहरीले भनेको छ, तर शँका लाग्ने ब्यक्ति कोहि छैन ।” मृतक सन्तोष कार्कीका काका जीवन कार्की भन्छन्, “आफन्त, नातेदार मात्र भएको गाउँमा कस्लाई शँका गर्नु, शँका गर्ने कोहि छैन, कस्लाई जाहेरी दिनु ।” “प्रहरीले अनुसन्धान गरिरहेका छौँ भनेको छ, गाउँका एक दुई जना बालबालिकाहरुसँग पनि अनुसन्धान भनेर केहि समय सोधपुछ गरेको थियो,” उनी थप्छन्, “प्रहरीले जिल्लाका हरेक ठाउँमा खोजि अभियान चलाईरहेका छौँ, हत्यारा छिटो पत्ता लगाउनु प्रहरीको पनि दायित्व हो भनेर भनिरहेको छ, तर आज सम्म पनि कुनै खबर छैन ।”
पोष्टमार्टम रिपोर्ट आएसँगै सन्तोष कार्कीको शव जलाईएको छ । “पोष्टमार्टम रिपोर्ट अन्य ठाउँमा पनि पठाउनु पर्ने भएकाले आईतबार अथवा सोमबार मात्र दिन्छ रे ।” जीवन कार्की भन्छन्, “रिपोर्ट भन्दा पनि हामीलाई हत्यारा चाहियो, हत्यारा पत्ता लगाउन छिटो कदम चालोस् ।” शुक्रबार मात्रै पनि ईलाका प्रहरी कार्यालयका एसपि सहितको टोलिले घटनास्थलमा आएर अनुसनधान गरेको थियो । अनुसनधान जारी छ, प्रहरीले पनि त्यसै भनिरहेको छ । प्रहरीको अनुसन्धान फितलो भएको धेरै स्थानियको भनाई छ । सामान्य रुपमा भएको अनुसनधानले हत्यारा पत्ता लाग्दैन की भनेर आफन्तहरु चिन्तित छन् । अहिले मृतकका बुवा शरण कार्की छोराको किरियामा बसेका छन् । “मर्ने त मरेर गयो तर हत्यारा पत्ता लगाएर सजाय दिन सके मृत आत्माले शान्ति पाउथ्यो कि ?” बुबा शरण कार्की र आमा सरस्वति कार्की यसै भन्छन् ।
यो पनि पढ्नुहोस् ।
धादिङ थाक्रेमा पुरुषको शब जलेको अवस्थामा भेटियो, प्रहरीले अनुसन्धान गर्दै