महिला राष्ट्रिय लिग फुटबल : एपीएफले काठमाडौंलाई हान्यो १० गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण ९, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ९,काठमाडौँ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा एपीएफले काठमाडौंलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदा रौतहट जिल्ला फुटबल संघले नेपाल पुलिसलाई पराजित गरेको छ ।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपीएफलाई फराकिलो जित दिलाउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् । यस्तै अनिता केसीले ह्याट्रिक पूरा गर्दा अनु लामा र अनिता बस्नेतले एक एक गोल गरे ।

सावित्राले खेलको ३२औं, ५१औं, ६१औं, ८४औं र ८५औं मिनेटमा गोल गर्दा अनिता केसीले खेलको दोस्रो, बीसौं र तीसौं मिनेटमा गोल गरेकी थिइन् ।

यो जितसँगै एपीएफले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । काठमाडौंको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं रौतहटसंग पराजित भएको थियो ।

त्यस्तै रौतहटले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । रौतहटले विभागीय टोली नेपाल पुलिस क्लबलाई १ – ० ले हरायो । रौतहटलाई जित दिलाउन अस्मिता वैद्यले निर्णायक गोल गरिन् । रौतहटलाई जित दिलाउन अस्मिताले खेलको १२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् । योसँगै रौतहटले लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

रौतहटले दुई खेलबाट ६ अंक जोडेको छ । रौतहटले पहिलो खेलमा काठमाडौंलाई पराजित गरेको थियो । पुलिसको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पुलिस त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस