श्रमजीवी पत्रकार ऐन अनुसार तत्काल न्यूनतम पारिश्रमिक उपलब्ध गराउ : प्रेस संगठन नेपाल

Post Thumbnail

पौष १३, काठमाण्डौँ । हाम्रो प्रिय तथा गौरवशाली संगठन प्रेस संगठन नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय भेला तथा केन्द्रीय कमिटीका सदस्य, अनुशासन आयोग र लेखा आयोगका सदस्यहरुको सपथ ग्रहण काठमाडौंमा सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य, आयोगका सदस्य र ७७ वटै जिल्लाका संयोजक र सह–संयोजकहरुको उपस्थिति रहेको भेलाको प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली र विशेष अतिथि नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो ।

भेलालाई सम्माननीय प्रधानमन्त्री एंव अध्यक्षसहित अध्यक्ष प्रचण्ड, नेकपा सचिवालय सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, महासचिव बिष्णु पौडेल, नेकपा केन्द्रीय सदस्य एवं प्रेस संगठन नेपालका इन्चार्ज राजेन्द्र गौतम, प्रचार तथा प्रकाश विभागका उपप्रमुख सूर्य थापाले सम्बोधन गर्नुभएको थियो । यस ऐतिहासिक राष्ट्रिय भेलाबाट पारित ‘काठमाडौं घोषण–पत्र’

यस ऐतिहासिक राष्ट्रिय भेलाबाट पारित ‘काठमाडौं घोषण–पत्र’
१ प्रेस संगठन नेपालको यो भेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एंव सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

२ यो भेला राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता पक्षमा दृढतापूर्वक उभिदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका पक्षमा आवश्यक योगदान पु¥याउने प्रण गर्दछ ।

३ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हितको पक्षमा अग्रणी संगठनको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने यो भेला प्रण गर्दछ ।

४ श्रमजीवी पत्रकार ऐन, २०५१ अनुरुप बृद्धि भएको न्यूनतम पारिश्रमिक अझै पनि अधिकांश सञ्चार माध्यमहरुले उपलब्ध नगराएकोप्रति यो भेलाको गम्भीर ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकार ऐन अनुसार तत्काल न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सबैमा आग्रह गर्दछ ।

५ राज्यका तीनै तहबाट सञ्चार सम्बन्धी कुनै पनि नीति, ऐन, कानुन र नियमावली बनाउँदा र निर्देशिका जारी गर्दा सरोकारवाला निकायसँग पर्याप्त छलफल र सहमतिका आधारमा बनाउन र जारी गर्न माग गर्दछ । साथै त्यस्ता कानुनहरुमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्य र मान्यता एंव संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल हुनेगरी ल्याउन यो भेला जोडदार माग गर्दछ ।

६ समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने बुँदा सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संसदमा पेश गरेको विज्ञापन ऐन संसदबाट पारित भएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाप्रति धन्यवाद ज्ञापन गर्दछ । पारित ऐन तत्काल कार्यान्यवन गर्न माग गर्दछ ।

७ राष्ट्रियसभामा छलफलको क्रममा रहेको प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक’ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै प्रकारको संकुचन नआउनेगरी आवश्यक व्यवस्थाहरु गरेर तत्काल पारित गर्न गर्दछ ।

७ पत्रकारको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धान, अभिलेखीकरणका लागि संघ र प्रदेशस्तरमा ‘आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापनाका लागि सरकारसँग माग गर्दछ ।

८ सरकारले लागु गर्न लागेको ‘क्लीन फिड’को नीतिको हार्दिक स्वागत र दृढ समर्थन गर्दै ‘क्लीन फिड’ तोकिएकै समयबाट लागु गर्न यो भेला माग गर्दछ ।

९ स्थानीय तथा साना लगानी तथा स्वरोजगारमुखी मिडिया प्रबद्र्धनका लागि स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिनका लागि यो भेला माग गर्दछ ।

१० सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा शुरु भएको पत्रकार दुर्घटना विमालाई स्वास्थ्य विमाका रुपमा समेत बिस्तार गर्न यो भेला माग गर्दछ । साथै, यो बैठक जेष्ठ पत्रकार सम्मान बृत्ति लगायत कार्यक्रमको दायरा बढाउँदै रकम मासिक ५ हजार पुर्‍याउन माग गर्दछ ।

११ यस अघिकै सरकारको नीति तथा कार्यक्रममा पत्रकारहरुका लागि सूचना विभागको प्रेस प्रतिनिधि परिचयपत्रका आधारमा सरकारी अस्पतालहरुमा ५० प्रतिशत उपचार खर्च सहुलियत उपलब्ध गराउने घोषणा गरिएको थियो । तर, यो घोषणा अझै कार्यान्वयनमा आउन सकेको छैन । यो राष्ट्रिय भेला उक्त सहुलियतलाई सहज रुपमा तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछ । साथै, शतप्रतिशत निःशुल्क उपचारका लागि गृहकार्य अगाडि बढाउन समेत ध्यानाकर्षण गराउँदछ ।

१२ सञ्चार माध्यमको वर्गीकरण निष्पक्ष र बैज्ञानिक हुन नसकेका आवजहरु उठेका छन् । सञ्चार माध्यमको वर्गीकरणका लागि नयाँ मापदण्ड लागु गरेर निष्पक्ष, बैज्ञानिक र विश्वसनीय बनाउन जोडदार माग गर्दछ ।

१३ यो भेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एंव सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

१४ प्रेस संगठन, नेपालको प्रथम राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित भइदिनु हुने सम्माननीय प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र विशेष अतिथिको रुपमा उपस्थित भइदिनु हुने नेपाल कम्युनिष्ट पार्टीनेकपाका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति आभार प्रकट गर्दछ । साथै भेला सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

ताजा अपडेट

खोजी गर्नुहोस