बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना : मौसमविद्

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष १४, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १४, काठमाण्डौँ । यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत रेकर्ड भएको छ ।

आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो । हरेक वर्षको डिसेम्बरको मध्यबाट चिसो बढ्ने भए पनि यसपाली अलिक छिट्टै चिसो बढेको महाशाखाको भनाइ छ । “चिसोसँगै हिमाली भेगमा हिउँ पर्ने, पहाड र तराईमा हुस्सु र शीतलहर चल्ने क्रम जारी छ,” मौसमविद् बरुण पौडेलले भन्नुभयो, “यसले जनजीवन कष्टकर बनेको छ ।”

उहाँले भन्नु भएझैँ हिमाली भेगमा यतिबेला तापक्रम माइनसमा झरिसकेको छ । जोमसोम, मनाङ, मुस्ताङ, जुम्ला भेगमा माइनसमा पनि तल तापक्रम झर्नेक्रम जारी छ । मनाङमा माइनस १९ डिग्री तापक्रम रेकर्ड भइसकेको छ । जुम्लामा आइतबार विहान केही बढेर माइनस ५.५ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ ।

काठमाडौँपछि अर्को चिसो सहर सुर्खेत जिल्लाको वीरेन्द्रनगर बनेको छ । चर्को शीतलहरसँगै यहाँको तापक्रम आइतबार २.४ डिग्री न्यूनतम सूचीकृत भएको छ । त्यसपछि ताप्लेजुङ र दिपायल अर्को चिसो स्थानका रूपमा रहेका छ । जहाँ २.६ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

त्यसपश्चात् डडेलधुरामा २.७ डिग्री, दाङ ३.५, पोखरा ३.७, ओखलढुंगा ५, धनकुटा ५.८, धनगढी र सिमरामा ७ डिग्री तापक्रम सूचीकृत भएको छ । त्यस्तैगरी, भैरहवा ७.५, विराटनगर ७.६ र नेपालगञ्जमा ८ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस