‘राजपाले मधेस आन्दोलनको म्यान्डेटलाई बिर्सन सक्दैन’- डा. सुरेन्द्र झा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १४, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । सत्ताधारी नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) बीच राष्ट्रिय सभा सदस्यका लागि भएको सम्झौताले राजनीतिक क्षेत्र विशेष गरी तराई–मधेसको राजनीति तरङ्गित भएको ठीक साँचो हो । राष्ट्रिय सभामा राजपाको उपस्थिति जोगाउनु राजनीतिक पार्टीका हैसियतले राजनीतिक उद्देश्य थियो । पार्टीका नेताहरूले त्यो उद्देश्य पूरा गर्न विभिन्न राजनीतिक दलसँग छलफल गर्ने बेला सबैभन्दा सही र उपयुक्त राजनीतिक सहमति नेकपासँग हुन पुगेको हो । दुवै दललाई दुई–दुईटा सिटको राष्ट्रिय सभामा फाइदा हुन पुगेको हो ।

संसदीय प्रणालीमा रहेका राजनीतिक दलहरूबीच यस किसिमको गतिविधि नौलो भने होइन । तर, यसले नेपाली राजनीतिमा केही तरङ्ग पैदा गराएको भन्ने पक्कै हो । हामीले नेकपासँग राष्ट्रिय सभामा सिट जोगाउन गरेको पहलले गर्दा समाजवादी पार्टीलाई राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो भन्नुको अर्थ छैन, न त समाजवादी पार्टी सरकारबाट हट्नुपर्ने राजपाको मागबमोजिम हटेको छ । सरकारमा जाँदा तत्कालीन संघीय समाजवादी फोरम हालको समाजवादी पार्टीले हामीसँग छलफल गरेको थिएन । हामीसँग कुनै सुझाव मागेको थिएन । तर, समाजवादी पार्टीले त्यतिखेर राजपासँग संघीय सरकारमा सहभागी हुँदाका बखत राजनीतिक नैतिकताका आधारमा छलफल गर्नुपर्ने थियो ।

दुवै पार्टीले त्यतिखेर सम्पन्न निर्वाचनमा तालमेल गरी चुनाव लडेका थिए । प्रदेश नम्बर २ मा मिलेर सरकार बनाएका थिए । राजनीतिक नैतिकताका आधारमा समाजवादी पार्टीले दुईबुँदे सम्झौता गर्दा छलफल गरेको थिएन । त्यसैले राजपाले राष्ट्रिय सभामा प्रतिनिधित्व जोगाउन गरेको पहलबाट समाजवादी पार्टीलाई सरकार छोड्नुपरेको भनाइ उचित होइन । राजपा सरकारमा जाँदै जाँदैन भनेर किरिया खाएर बसेको होइन । मधेस आन्दोलनको म्यान्डेटलाई पूरा गर्न समाजवादी पार्टी र राजपाबीचको एकीकरणलाई अगाडि बढाउने भनेका थियौं । तर, उहाँहरूले आफूहरूलाई सोध्दै नसोधी सरकारमा सहभागी भए र सरकारबाट निस्कनुभएको हो ।

राजपाले मधेस आन्दोलनको म्यान्डेटलाई बिर्सन सक्दैन । यसका लागि राजनीतिक गतिविधि गर्न पार्टी तयार छ । सरकारमा जान हामीलाई सामेल हुन पहिलादेखि भनी आएको विषय हो । सत्ताधारी पार्टीका नेताहरूको तर्फबाट हामीलाई सरकारमा आउन पहिले पनि सहभागी हुन भनिएकै हो । तर, हामीले उठाएका माग पूरा गर्न नसक्दा दिएको समर्थन फिर्ता लिएको सबैलाई थाहा भएको विषय हो ।

हामीले उठाएको राजनीतिक मागहरूको सम्बोधन हुने विश्वसनीय वातावरण निर्माण हुनुपर्ने हुन्छ । पार्टीका नेताहरूले यसबारे राजनीतिक छलफल गरिरहनुभएको छ । निर्णयमा पुग्नु हुनेछ, तर हामीले भन्दै आएको विषय मधेस आन्दोलनको म्यान्डेटलाई अवमूल्यन हुने खालबाट पार्टी सरकारमा सहभागिता जनाउनु हुँदैन ।

पार्टी नेतृत्वले यसअघि सत्ताधारी दलबाट सरकारमा सहभागी हुन भएको प्रस्ताव र अहिले सरकारमा सामेलन हुन गरिने प्रस्तावबीचको राजनीतिक महत्व बुझेर निर्णय गर्नुहुनेछ । त्यो भनेको अन्ततः हामीले जोगाइराखेको मधेस आन्दोलनको एजेन्डा र मर्मको विषय नै हो । यसलाई अनदेखा गरी राजपा सरकारमा सहभागी होला भन्ने लाग्दैन ।

ताजा अपडेट

खोजी गर्नुहोस