रसुवामा भिषण पहिरो : ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १०, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १०,रसुवा । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाको ज्यान गएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।

पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएको बताए ।

पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचान खुलेको छैन । बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलको अनुमान छ ।

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिए ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रजिअ पौडेलले बताए । ‘उद्धार तथा खोजी कार्यलाई सडक अवरुद्ध हुँदा केही समस्या भएको छ’, प्रजिअ पौडेलले भने, ‘तैपनि हामीले उद्धार तथा खोजी कार्यलाई गति दिएका छौं ।’

टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस