भाइसँग डीएनए मिलोस्

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष १५, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । सल्यान रोड, तुलसीपुर दाङकी सुदा रिजाल एक्लै हुनासाथ कल्पना गर्छिन्– ०६१ जेठ २ नहुँदो त जीवन कति खुसी हुने थियो । बुबाको संरक्षण, भाइको माया । तर, जीवन सोचेजस्तो कहाँ हुन्छ र झन्डै डेढ दशकअघिको त्यो दिन, जसले उनलाई माइतीविहीन बनायो । उनी बिर्सन त खोज्छिन्, तर नसम्झेर कहाँ धर ।

आमाको रिक्ततामा उनलाई बाले दुःखसुख हुर्काइरहेका थिए। त्यस दिन उनी घरमै थिइन्। बा चारवर्षे भाइलाई लिएर घरबाट निस्किए । कतै काम परेर गएको ठानेर उनी आफ्नै धुनमा बसिन् । भाइ बोकेर गएका बा त्यसपछि घर फर्किएनन् । कैयौं दिन बिते तर बा र भाइको पत्तो लागेन । १२ वर्षकी सुदा त्यसपछिका दिन आफन्तको छहारीमा हुर्कंदै गइन्। केही दिनपछि ठूलोबुबाले पत्रिकामा बा र भाइ हराएको सूचना निकाले । तर, कसैले पनि भेटिएको खबर दिएनन् । सुदाको मन भाइलाई सम्झेर पिरोलिइरह्यो । १७ वर्षमा उनको विवाह भयो। विवाहको केही वर्षपछि श्रीमान्सँगै भारतको सिमला पुगिन् । श्रीमान् स्याउ बगानमा काम गर्थे । उनी सडकमा भेटिने बेसहारा ससाना बाबुहरू देख्दा आफ्नै भाइ पो हो कि भनेर झस्किन्थिन् । कोही–कोहीसँग त नाम र ठेगान नै सोध्थिन् ।

आठ वर्षअघि उनीहरू तुलसीपुर फर्किए । बेलाबेला उनलाई बा र भाइको खोजीमा निस्कौं जस्तो लाग्थ्यो । तर, खोज्न त्यति सजिलो थिएन । ‘कहीं नाम नखुलेको लास छ भन्ने सुन्नासाथ त्यहीं पुग्थें,’ सुदा भन्छिन्, ‘कतै बेवारिसे भेटियो भने भाइ नै हो कि भन्ने लाग्थ्यो ।’ रोगी बा त पक्कै यतिका वर्ष बाँचेनन् होला भन्ठानेर केही वर्षयता उनी भाइकै मात्र खोजीमा केन्द्रित हुन थालिन् ।

त्यसका लागि उनी कहाँसम्म पुगिनन्
करिब दुई वर्षअघि एक आफन्तले साँझमा घरमै आएर बुबा र भाइ भेटिएको कुरा सुनाए । उनीहरू नेपालगन्जको एउटा घरमा बसेको अपूरो सूचना दिए । खबर सुनेको रात सुदा झिमिक्क निदाउन सकिनन् । बिहान सबेरै उठेर तुलसीपुरबाट नेपालगन्ज हान्निइन्। चर्को घामको पर्वाह नगरी घर खोजिन् । भेटेजति मान्छेलाई सोधिन् । तर, प्रयास व्यर्थै भयो । आफन्तले दिएको सूचना मिलेन । उनी निराश भएर फर्किइन् ।

त्यसको केही महिनापछि कसैले उनलाई सुनायो, दाङको घोराहीमा एउटा केटा छ रे। सानै उमेरमा बुबासँग घरबाट निस्केको रे । उनी घोराही नै पुगिन्। तर, त्यो केटाको विवरणसँग भाइको विवरण मेल खाएन । रोजगारीका निम्ति दुबई पुगेका श्रीमान्ले उतैबाट सुनाए, ‘काठमाडौंको होटलमा एउटा केटा छ रे, सानैमा बुबासँगै घरबाट निस्केको, कतै तिम्रो भाइ नै पो हो किरु’ दसैंको चटारोले छोपेको थियो । उनी सबथोक छाडेर अष्टमीका दिन काठमाडौं पुगिन् । श्रीमान्ले भनेको होटलमा पुगिन् । सोधखोज गर्दा श्रीमान्ले भनेको मान्छे त्यहाँ थिएन । सुदा नपुग्दै उसलाई अभिभावकले जिम्मा लिइसकेका थिए । फेरि निराश बनेर घर आइन् ।

तीन महिनाअघिको एउटा खबरले भने उनको जीवनमा भिन्न किसिमको खुसी सञ्चार गरायो। घरमै बसिरहेका बेला छिमेकी दिदीले सुनाइन्, ‘न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’मा एउटा बच्चाको फोटो देखाएको थियो, मलाई त तिम्रो भाइजस्तो लाग्यो।’ उनले युट्युबमा कार्यक्रम हेरिन् । त्यसमा भारतको राजधानी दिल्लीछेउ आश्रममा बस्ने, अभिभावकको परिचय नखुलेको एक नेपाली किशोरका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा किशोरका बाल्यकालीन केही तस्बिर पनि देखाइएको थियो । उनको भाइको नाम दशरथ थियो । कार्यक्रममा देखाइएको किशोरको नाम अनिल । तैपनि उनलाई किनकिन त्यो किशोर आफ्नै भाइजस्तो लाग्यो। उनले मन बुझाइन्, भाइले नाम फेर्‍यो होला ।
कान्तिपुर दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस