पौष २०, चितवन । नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्री व्यवसायी ज्ञानबहादुर बिसुराल चयन भएका छन् । संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन् ।
यस्तै सदस्यहरूमा पुरु खनाल, घनश्याम पौडेल, हरिकृष्ण खनाल, दीपेश श्रेष्ठ, सुनील ढकाल, सञ्जीव ढकाल, अनुज जिसी, ओमप्रकाश कार्की र विजय देशार चयन भएका छन् । शुक्रवार भरतपुरमा भएको प्रदेश ३ को भेलाले ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको हो ।
पोल्ट्री क्षेत्रमा एक खर्ब २० अर्ब रुपैयाँ लगानी
नेपालमा तीन सय १० वटा ह्याचरी उद्योग रहेका छन् । ती ह्याचरीबाट ब्रोइलर, लेयर्स र कलर ब्रोइलर गिरीराज चल्लाको उत्पादन हुन्छ । नेपालमा रहेका कूल ह्याचरी उद्योग मध्ये झण्डै आधा उद्योग प्रदेश नम्वर ३ मा रहेका छन् । करिब ७० प्रतिशत चल्ला उत्पादन प्रदेश नम्वर ३ बाट हुने गर्दछ ।
बिगत एक वर्षदेखि ह्याचरी उद्योगहरुले उत्पादन लागत सम्म पाउन नसकेका नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउनुहुन्छ । कुखुराको लागि आवश्यक पर्ने दानाको कच्चापदार्थको मूल्य अत्यधिक मात्रामा बढेको कारण दानाको मूल्य वृद्धि हुँदा समग्र पोल्ट्री व्यवसाय चल्ला, अण्डा र तयारी ब्रोइलर कुखुरामा धेरै नोक्सानी सहनु परेको व्यवसायीहरु बताउँछन् ।
नेपालमा हाल ब्रोइलर चल्ला प्रति हप्ता ४५ लाख, लेयर्स चल्ला दुई लाख ७५ हजार गोटा, तयारी कुखुरा दैनिक ८ लाख केजी, अण्डा दैनिक ३५ लाख गोटा, दाना दैनिक चार हजार मेट्रिक टन उत्पादन हुने गर्दछ । पोल्ट्री क्षेत्रमा करिब एक खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको छ भने दुई लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ ।