-डोल्मा मम्बा
पुस २१,धादिङ । धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज स्थापनाको १२ औं वर्ष पुरा गरि आजदेखी १३ औं वर्षमा प्रवेश गरेको छ । समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको रेडियो धादिङ १३ औं वर्षमा प्रवेशको अवसरमा समाज रुपान्तरणमा रेडियो धादिङ विषयक प्यानल डिस्कसन, अन्तक्रिया तथा सुझाव संकलन कार्यक्रम गरेको छ।
ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते अर्थात आजकै दिनदेखी धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको हो । हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो धादिङमा अहिले प्रत्येक दिन नेपाली भाषाका खवर ६ बुलेटिन प्रसारण गरिरहेको छ । साथै नेपाली, तामाङ भाषामै विभिन्न कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।
यात्रामा निस्कने सर्वसाधारणको हितलाई ध्यानमा राखेर रेडियो धादिङले प्रत्येक २–२ घण्टाको फरकमा राजमार्ग खवर पनि प्रसारण गर्दै आएको छ । वार्षिक उत्सवको अवसरमा समाज रुपान्तरणमा रेडियो धादिङ विषयमा प्यानल डिस्कसन, अन्तरक्रिया तथा सुझाव संकलन गरिएको थियो । प्यानल डिस्कसनमा विशेष गरि समाज रुपान्तरणमा रेडियो धादिङले अबलम्बन गरेका निीति तथा अहिलेसम्म गरेका कामको बारेमा छलफल सँगै आगमी दिनमा रेििडयो धादिङ कसरी अगाडी बढ्नुपर्ला भनेर सुझाव समेत संकलन गरिएको थियो ।
प्यानल डिस्कसनमा त्रिपुरा सुन्दरी गाउपालिकाका अध्यक्ष शम्भुकुमार थापा, थाक्रे गाउपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेति, गजुरी गाउपालिकाका उपाध्यक्ष सीता ढुङ्गाना, गैसस महासंघ ३ नम्वर प्रदेश अध्यक्ष दामोदर अर्याल, महिला अधिकारकर्मी राधिका सापकोटा, समाजसेवी बुधसिं तामाङ, प्राध्यापक मुरारी अधिकारी, अगुवा किसान भक्तबहादुर बस्नेतबिच समाज रुपान्तरणमा रेडियो धादिङको भुमिकाको बारेमा छलफल गरिएको थियो । छलफलमा सहभागीहरुले समाजका हरेक विषयमा रेडियोले चासो दिनुपर्ने, समाजका नकारात्मक अभ्यासहरु, हानिकारक संस्कारहरुको अन्त्यको लागि भुमिका खेल्न जोड दिएका थिए । यस्तै नागरिकको लागि बनेको राज्यको नीति तथा कानूनहरु कार्यान्वयन गर्न, सामुदायिक रेडियोमा समुदायका व्यक्तिहरुको सहभागिता र स्वामित्व अभिबृद्घिका लागि बिशेष प्राथमिकता दिन जरुरी रहेकोमा जोड दिएका थिए ।
यस्तै समुदायका व्यक्तिहरुको आवश्यकता रुचिका विषयलाई ध्यानमा राखेर समाचार, सुचना र जानकारीमुलक सामाग्री प्रसारण गर्न सके मात्र सामुदायिक रेडियो वास्तवमै समुदायको रेडियो बन्ने सामुदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडाले बताए । समाजमा विद्यमान विसङ्गति, विकृति, कुरीति, कुसंस्कारसँगै जातीय, लैंगिक, धार्मिक विभेदको अन्त्यका लागि सामुदायिक रेडियोको अहम भुमिका रहने भएकोले रेडियो धादिङले आगामी दिनमा त्यस्ता विषयमा ध्यान दिन खतिवडाले आग्रह गरे ।