पौष २५, काठमाण्डौँ । सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।
सरकारले निःशुल्क वितरण गर्ने आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको पाइएको छ । तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् । अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । उनले भने, ‘रिपोर्टमा गम्भीर विषय उल्लेख छन् । कारबाही प्रतिबद्धताविना रिपोर्ट सार्वजनिक गर्दा कमजोर हुन्छ । त्यसैले हामीले केही समय कुरेका हौँ ।’
सरकारले हरेक वर्ष दुई अर्ब मूल्यबराबरको निःशुल्क औषधि खरिद गर्दै आएको छ । तर, ती औषधिको गुणस्तरमा ध्यान नदिँदा माटोसरह बनेका छन् । यस्ता औषधि सेवनले कति बिरामीको मृत्यु भइसकेको हुन सक्छ । कतिको महत्वपूर्ण अंगहरूमा असर गरेको होला ।
उनले यी औषधि कतिजनाले सेवन गरेका छन्, सरकारले खोज्नुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फेल भएका औषधि निकै गम्भीर प्रकृतिका भएको बताए ।