पौष २७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वउद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वदेशमा उत्पादीत वस्तुहरुको प्रयोग गरी आयात घटाउनु पर्ने तथा निर्यातलाई जतिसक्दो बढाउनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुर हस्तकला संघको आठौं साधारण सभालाई शनिवार सम्बोधन गर्दै सांसद बस्नेतले नेपाल हस्तकला, सिमेन्ट, जुत्ता, चप्पल, चिनी लगायतका विभिन्न प्रकारका साना तथा ठूला उद्योगको माध्यमबाट आत्मनिर्भरको साथमा लाखौंलाई रोजगारीको समेत सिर्जना गर्न सकिने बताए ।
स्वदेशी उत्पादीत वस्तुलाई प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले आफु मन्त्री भएकाले समयमा सरकारी कार्यालय तथा कार्यक्रममा प्रयोग गरीने खादा नेपाली उत्पादनको प्रयोग गर्नुपर्ने निर्देशिका बनाएकै कारण हाल करिव ८० प्रतिशत खादा नेपाली उत्पादनको प्रयोग हुन थालेको बताए ।
उनले भने, ‘स्वदेशमा उत्पादीत वस्तुको प्रयोग गरौं, आत्मनिर्भर तथा पर्यटन प्रवद्र्धन हुन्छ । सरकारी निकायले अनिवार्य प्रयोग गर्नुपर्ने भन्ने निर्देशिका नै म मन्त्री भएको समयमा बनाएको थिँए । सोही अनुसार हाल प्रयोगमा आइरहेको छ । मेरो विशेष सहयोगले तीन गुणाले घरेलु उत्पादीत सामाग्रीहरु बढेको छ । यसलाई अबका दिनमा स्वदेशमा मात्र नभई विदेशमा निर्यात गर्ने गरी सामाग्री उत्पादन गरी आर्थिक वृद्धिदरलाई उच्च बनाउनुपर्छ । देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ ।’
हस्तकला भक्तपुरकै गौरवको रुपमा रहेको उल्लेख गर्दै उनले समस्या र चुनौतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । हस्तकला, साना तथा मझौला उद्योग लगायतका कुरामा आफ्नो सहयोग तथा समर्थन निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्दै उनले हस्तकला नै मौलिक कला भएकाले पर्यटन विकासको महत्वपूर्ण माध्यम भएको बताए ।
समृद्ध नेपाल सुखी नेपालीको लागि भौतिक तथा सेवाको विकासले मात्र पुरा हुन नसक्ने भएकाले त्यसको सार्थकताको लागि औद्योगिक चेतनाको विकास अपरिहार्य रहेको उल्लेख गर्दै उनले हस्तकलालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । हस्तकला तथा कुनै पनि उद्योगलाई गुणात्मक तथा परिणात्मकलाई प्रविधिसँग जोड्नु अहिलेको अपरिहार्य रहेको समेत उनले औल्याएका छन् ।
उद्योगीलाई सहुलियतका सवालमा आफुले अर्थमन्त्रालयको कठोर व्यवहारलाई सहजता प्रदान गरेको जानकारी गराउँदै उनले आफ्नो नेतृत्वमा प्रत्येक विकास क्षेत्रमा एक औद्योगीक ग्रामको योजना अनुसार नै अहिले प्रत्येक स्थानीय तहमा एक औद्योगीक ग्रामको शुभारम्भ भएको समेत स्पष्ट पारे ।
सानो कुराको महत्व ठूलो हुने बताउँदै उनले जग्गाको व्यवस्थापन भएमा हस्तकला तथा उद्योग ग्रामको लागि बजेट व्यवस्थापन तत्काल मन्त्रालयले गर्ने समेत जानकारी गराए ।
२०६२ सालमा शुरु गरिएको संघले हाल ४ लाख भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जानकारी गराउँदै नेपाल हस्तकला महासंघका अध्यक्ष सुन्दर भाई शाक्य, भक्तपुर उद्योग बाणीज्य संघका उपाध्यक्ष रोशन बैद्य, संघका वरिष्ठ सल्लाहकार इन्द्रबहादुर शाक्य, साना तथा मझौला महासंघका अध्यक्ष बाबुकाजी महर्जन, नेपाल हस्तकला संघ काठमाडौँका अध्यक्ष मिरा भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष गणेशमान राजचलले संस्थाको प्रतिवेदन, आय व्यव तथा लेखा परिक्षणको प्रतिवेदन कोषाध्यक्ष सोम तामाङले गर्नुभयो भने उपाध्यक्ष शम्भु श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।