पौष २८, नुवाकोट । नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
तारकेश्वर गाउँपालिका ३ को चन्दनीमामा आउँदो माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्ड लगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत पनि गरिने छ ।
विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै ठाउँमा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ । नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घले भञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछाप लगायत ठाउँमा पनि गोरु जुधाइ हुने गरेको छ । रासस