पौष २९, काठमाण्डौ । मुसिकोट नगरपालिका ७ बामी अर्जायाका एकै परिवारका तीन भाइको मिर्गौला फेल भएर मृत्यु भएको छ । अर्का एक भाइ मिर्गौला फेल भएकै कारण जीवन मरणको दोसाँधमा छन् । स्वर्गीय कलाधर न्यौपानेका पाँच भाइ छोरामध्ये तीन भाइको मिर्गौला फेल भएकै कारण मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन् ।
कान्छाछोरा भोला न्यौपाने डेढ वर्षदेखि मिर्गौला रोगले थलिएका छन् । जेठा दाजु प्रकाश, माइला दाजु तारापति र साइँला दाजु डिलारामको मिर्गौला फेल भएकै कारण मृत्यु भएको भोलाले बताए । भोलाका काइँला दाजु सुरज भने बैदेशिक रोजगारीको सिलशिलामा साउदी अरबमा छन् । उनलाई मिर्गौला समस्या छ छैन खुलेको छैन । पाँच भाइ छोराका पिता कलाधरको पनि ०५५ सालमा मिर्गौला फेल भएरै मृत्यु भएको थियो ।