पर्यटन बर्ष २०२० : स्वयम्भुमा कुकुर र बाँदरको आतंक ! स्वागत गेटमा फोहोरको डङ्गुर

Post Thumbnail

माघ १,काठमाडौँ । ‘पर्यटन बर्ष २०२०’ भव्य प्रचार गरिरहदा राजधानीको प्रमुख पर्यटकिय गञ्तव्य स्वयम्भुनाथमा भने पर्यटक जान डराउनुपर्ने अवस्था सिर्जना भएको छ । विश्व सम्पदा सुचीमा समेत रहेको र नेपाल घुम्न आउने पर्यटकको मुख्य गञ्तव्य स्वयम्भुनाथ स्तुपा आसपास फोहोरको डङ्गुर,कुकुर तथा बाँदर आतंकले पर्यटक आत्तिने गरेका छन । स्वयम्भुस्थित बिजेश्वरीदेखी भगवान पाउसम्म झण्डै १५ सयको हारहारीमा कुकुरमात्रै रहेको र तिनिहरुले पर्यटकलाई झम्टने, स्थानीय पैदलयात्रीलाई पटकपटक टोकेको घटना दैनिक देख्नुपरेको यहाँका स्थानीय तथा पर्यटन व्यवसायी समेत रहेका जगत लामाले अनलाईनकेन्द्रलाई बताए ।

उनले भने–’सरकारले पर्यटन बर्ष घोषणा मात्रै गर्यो तर मुख्य पर्यटकिय क्षेत्रमा अझै अव्यवस्थित र असहज स्थिती रहेको छ, स्वयम्भु स्तुपा छिर्ने द्धार भगवानपाउ क्षेत्र आसपास त कुकुर र बाँदरले पर्यटकलाई हैरान बनाउछ’, लामा भन्छन– ‘अझै उनिहरुले बोकेको सामानमाथी पटक–पटक झम्टिने, कुकरको भिडले लखेट्ने जस्ता असहज स्थितीले पर्यटकले सास्ती व्यहोर्नु परिरहेको छ ।’ उनले स्वयम्भु आसपास रहेका बाँदरको आतंक रोक्न सरकारले पहल गर्नुपर्ने बताए ।

स्वयम्भुमा मङकी टेम्पल होमस्टेका सञ्चालक लाप्साङ लामाले पनि बुद्धको मुर्ती हेर्न र शान्तीको आभाष महसुस गर्न आउने पर्यटकमाथी कुकुर र बाँदरको झम्ट्याईले हैरान र अशान्ती मच्याएको बताए । उनले भने–’कुकुर र बाँदरको आतंक त छदैछ , त्यसमाथी स्तुपा छिर्ने मुख्य द्धारमा फोहोरको डङ्गुर देख्दा पर्यटक दिक्क हुन्छन ।’

स्वयम्भुमै स्तुपा भ्यु होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी अम्बर कुमार बम्जन पनि पछिल्लो समय स्वयम्भुमा कुकुर र बाँदरको आतंकसंगै अस्तव्यस्त फोहोरले पर्यटकसंगै स्थानीय पनि हैरान भएको बताउछन । उनले समयमै फोहोर नउठाउने, एकैठाँउमा दर्जनौ कुकुर चिच्याउदै पैदलयात्रुलाई लखेट्ने जस्ता क्रियाकलापले स्वयम्भुक्षेत्र अशान्त बनेको बताए । सरकारले विशेष चासो दिनुपर्ने बताउदै बम्जनले भने–’स्थानी सरकारले पनि गम्भिर चासो देखाएन्, स्वयम्भुमा पर्यटक बढी भन्दा बढी भित्र्याउनुपर्छ भन्छ, तर वातावरण बनाउदैन ।’

उनले भने–’विश्वमा शान्ती फैल्याउने भगवान बुद्धलाई नजिकबाट नियाल्न यहाँ दिनमै सयौँ पर्यटक आउछन, बुद्ध शान्तीका दुत हुन तर उनको विशाल मुर्ती रहेको क्षेत्र भने अशान्त बन्दै गईरहेको छ यसमा सबैको चासो जाओस् ।’ काठमाडौँको मात्रै नभई सिंगो देशसंग जोडिएको स्वयम्भुनाथ स्तुपा आसपास सरकारले शान्ती कायम गर्न अहिलेसम्म चासो नदेखाएको स्थानीय अगुवाले समेत बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस