साउन १२,कञ्चनपुर । वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।
आव ०७४÷७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ । सो पुल निर्माण ७० प्रतिशत पूरा भएको छ । नगरपालिका वडा नं ५ पोलखरी र वडा नं ६ सिसैया जोड्ने चौधर नदीमा रु ११ करोड ४६ लाख ६० हजार ६० को लागतमा निर्माण शुरु गरिएको पुल ३५ प्रतिशत पूरा भएको छ ।
यसैगरी नगरपालिकाको वडा नं ६ मुसेपानी र वडा नं ७ गाउजी पुलती बजार जोड्ने पुल रु १७ करोड ४१ लाख ७४ हजार ५३, वडा नं ३ वेदकोट नदीको खलगौडीमा रु चार करोड ७६ लाख ५५ हजार ८९५, वडा नं ३ कै भम्का र वडा नं ४ विजयनगर जोड्ने साजगाडमा रु १२ करोड २८ लाख ४० हजार ९७५ तथा वडा नं २ जडेपानी र वडा नं ३ जोडन राधा नदीमा रु पाँच करोड १२ लाख १५ हजार ८४८ को लागतमा पुल निर्माण भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन पुलको ३५ प्रतिशत काम पूरा भएको छ ।
यसैगरी नगरपालिकाको वडा नं १ हात्तीथला र वडा नं २ को जडेपानीको पथरिया नदीमा रु ७२ करोड २० लाख ६७ हजार ६२१, वडा नं ३ र वडा नं २ वसन्तथला जोड्ने रु एक करोड ५५ लाख, वडा नं १० को बल्मा नदीमा रु नौ करोड ५७ लाख ३३ हजार ४३९ र वडा नं १० कै नयाँ गाउँ र भीमदत्तनगरपालिका १९ जोड्ने कनकट्टी खोलामा रु छ करोड ४९ लाख ७१ हजारको लागतमा पक्की पुल निर्माणका काम भइरहेका छन् ।