प्रधानन्यायाधीशमा जोशीको नाम संकटमा, निर्णय भोलीमात्रै हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १३, आईतबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन १३,काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक भोलिलाई सरेको छ ।

बैठक विहान ८ बजे बोलाइएको थियो । तर, सोमबार दिउँसो २ बजेका लागि सरेको लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जोशीको सुनुवाई सकिएको चार दिन भइसक्यो । विगतमा सुनुवाई लगतै निर्णय सुनाउने गरिएको भएपनि यो पटक लगातार दुई वटा बैठक स्थगित हुनुले शंका उब्जिएको छ ।

सुनुवाइकै क्रममा कामु प्रधानन्यायाधीश समेत रहेका जोशीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठेको छ ।

स्रोतका अनुसार सत्तारुढ दल नेकपाले जोशीको नाम अनुमोदन गर्ने-नगर्ने कुनै संकेत आफ्ना सांसदहरुलाई दिएको छैन । ‘अनुमोदन गर्ने हो भने हामी प्रमाणपत्र खोजविनतिर लाग्दैनौं । होइन भने खोज्छौं,’ सुनुवाई समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘पार्टी नेतृत्वले कुनै सिग्नल नदिँदा बैठक राख्न सकिएन ।’

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहनुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस