मेलम्ची आयोजनाको २२ किमि आरसीसी ढलान सकियो

Post Thumbnail

माघ ७, काठमाण्डौ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये २२ किलोमिटरमा आरसीसी ढलान लगायतको संरचना निर्माण कार्य सकिएको जनाएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले एकतर्फी रूपमा टाट पल्टेको घोषणा गरेपछि ठप्प मेलम्चीको काम गत मंसिरबाट सुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङको ठेक्का पाएको हो । ‘सुरुङको भित्री संरचनाका काम बाँकी थियो, अब अन्तिम चरणमा छ,’ आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीले भने ।

सुरुङलाई बढी बलियो बनाउन ढलान र पर्खालको संरचना बनाउने काम तीव्र गतिमा भइरहेको उनको दाबी छ । ‘८० प्रतिशत काम सकिएको छ, अब २० प्रतिशत ९४ किमि० मात्र बाँकी छ,’ उनले भने, ‘सुरुङको संरचना त तीन महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’

हेडवर्क्सलगायतको काम पनि करिब २० प्रतिशत भइसकेको उनले बताए । ‘सीएमसीले ठेक्का तोडेपछि हेडवर्क्स र सुरुङको काम बाँकी थियो,’ खत्रीले भने, ‘अहिले काम तीव्र गतिमा अघि बढेको छ, ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गरिरहेको छ ।’ तीनवटा भेन्टिलेटर सफ्टमध्ये सुन्दरीजल ४५ मिटर र ग्यालथुम १०७ मिटर निर्माण भइरहेको उनले बताए । तर, सिन्धु ७७ मिटर भेन्टिलेटर सफ्टको काम बाँकी रहेको जानकारी दिँदै उनले विद्युत् प्राधिकरणसँग निर्माणका लागि अनुरोध गरिएको बताए ।

‘भारतीय ठेकेदार कम्पनीले ठेक्का लिएको थियो, सीएमसीले ठेक्का तोडेपछि त्यो पनि आएन, अब विद्युत् प्राधिकरणसँग समन्वय गरेर काम अघि बढाउने कुरा भइरहेको छ, केही दिनमै त्यो पनि निष्कर्षमा पुग्छ ।’ उनले १५ महिनाभित्र मेलम्चीका सबै काम सम्पन्न गर्ने गरी काम अघि बढेको र ठेकेदार तथा आयोजनाका कर्मचारी चौबिसै घण्टा निर्माणस्थलमा खटिएको बताए । सुरुङ अबको १० महिनाभित्र र हेडवर्क्सको काम १३ महिनाभित्र सम्पन्न हुने दाबी उनको छ । १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गर्ने समयसीमा तोकिए पनि मेलम्ची खोलामा निर्माण गरिने अस्थायी हेडवर्क्सबाटै सुन्दरीजलसम्म पानी ल्याउने योजना आयोजनाको छ । २६ किमि सुरुङ खन्ने काम सकिए पनि सुरुङको आरसीसी ढलान बाँकी थियो ।

सिनोले समयसीमा अगावै काम सके बोनससमेत दिइने खत्रीले बताए । ‘१० प्रतिशतसम्म बोनस दिन्छौं,’ खत्रीले भने । आयोजनाका अनुसार सम्झौता भएको मितिदेखि सुरुङ निर्माण सम्पन्न अवघि १२ महिना र हेडवर्क्सको अवधि १५ महिना तोकिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस