माघ ७, काठमाण्डौ । २०७२ सालको भूकम्पले ३२ जिल्लाका विश्व सम्पदा क्षेत्रका एक सय ६० सम्पदामा क्षति पुर्याएको थियो । तीमध्ये अहिलेसम्म ९६ वटा सम्पदा मात्रै पुनर्निर्माण भएका छन् । विश्व सम्पदा सूचीमा रहेका काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर परिसर, पाटन दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, बौद्धस्तूपा क्षेत्र, स्वयम्भू क्षेत्र र पशुपति मन्दिर क्षेत्रका क्षतिग्रस्त ९६ सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । बाँकी ६४ सम्पदा भने पुनर्निर्माण पूरा हुने टुंगोसमेत छैन ।
वसन्तपुर दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनस्र्थापना तथा तलेजु मन्दिरको पुनर्निर्माण भएको छ । यस्तै, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण र शंकरनारायण मन्दिरको पुनर्निर्माण सकिएको छ । चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अनन्तपुर मन्दिर, आनन्दकुटी महाविहारलगायत सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सकिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्र्थापना भएको छ । मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ । कृष्ण मन्दिरको संरक्षण कार्य गरिएको छ । त्यसैगरी, थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपलगायत पुरातात्विक सम्पदाहरू पुनर्निर्माण भइसकेका छन् । रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित साततले दरबार, गोरखा दरबारलगायत महत्वपूर्ण सम्पदा निर्माणको क्रममा छन् ।
बजेट अभावमा सम्पदा पुनर्निर्माण सुस्त
भूकम्पले देशभर क्षति पुर्याएका आठ सय ९१ ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदामध्ये अहिलेसम्म तीन सय ८९ सम्पदाको मात्र पुनर्निर्माण भएको छ । हाल एक सय २३ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन् । पर्याप्त बजेट अभाव तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण पुरानै शैलीमा गर्ने नीतिका कारण सम्पदा पुनर्निर्माणको गति सुस्त बनेको हो । भूकम्पको साढे चार वर्ष बितिसक्दा पनि कैयौँं सम्पदाको पुनर्निर्माण योजनासमेत बन्न सकेको छैन । भक्तपुर दरबार हेरचाह कार्यालयका प्रमुख मोहनसिंह लामा बजेट र निर्माण सामग्री अभाव, अनुभव नभएका निर्माण कम्पनीसँग सहकार्य, दक्ष कालीगढ अभावलगायत कारणले ढिलाइ भइरहेको बताउँछन् । ‘विगत वर्षहरूदेखि नै सम्पदा पुनर्निर्माणमा स्रोत सुनिश्चितताको समस्या थियो, यस वर्ष पनि उही समस्या छ, काम थाल्ने भनिएका योजनामा समेत अहिलेसम्म बजेटको टुंगो छैन,’ उनी भन्छन् ।