माघ ९, थानकोट । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजयकुमारले बुधबार काठमाडौं जिल्लाको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित विद्यालय भवनको औपचारिक उद्घाटन गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभागका महा निर्देशक मणिराम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीले सो समारोहमा सहभागीता जनाएका थिए ।
नेपाल सरकार राष्ट्रिय परीक्षाबोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्दयोग मन्दिरले स्थापना गरेको हो । यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ ।
जस मध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन् । जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।
भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा ११ वटा कक्षाकोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्षरहेका छन् ।
यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।