प्रदेश सांसद मनाङ्गे धरौटीमा रिहा ! झापड खाने मिलन  थुनामा

Post Thumbnail

माघ १२,पोखरा । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् । गुरुङलाई प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा छाड्न आदेश दिएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङका खेलाडीका लागि आवास तथा खेल मैदान व्यवस्थापन नगरेको भन्दै मनाङ्गेले ७ माघमा मिलनलाई झापड हानेका थिए । त्यसको भोलिपल्ट मिलनले आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी दिए ।

सांसद राजीवविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीत कसुर गरेको आरोप थियो । यो कसुरमा १ वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था छ ।

झापड खाने मिलन थुनामा

मनाङ्गविरुद्ध उजुरी दिएको भोलिपल्ट जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलनविरुद्ध पनि उजुरी पर्‍यो । विवादास्पद छविका उनीविरुद्ध ठगीको उजुरी परेको थियो ।

हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिए । आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मिलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए । साफ यु १८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो । मिलनले २ लाखको चेक दिए पनि नसाटिएको जाहेरीमा उल्लेख छ ।

बैंकिङ कसुरमा पक्राउ परेका मिलनलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको छ । उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलासले ७ दिन म्याद थपेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस