माघ १४,विरगञ्ज । भारतबाट हुने धान र चामलको आयातमा वृद्धि हुँदै गएको छ। नेपालको लागि चाहिने चामल र धान स्वदेशमा उत्पादन हुन नसक्दा भारतबाट यसको आयात हुने क्रम बढेको हो।
मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाट गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आव २०७६/७७ को साउनदेखि माघ १२ सम्म १८ हजार ४ सय ५ टन धान र १७ सय ३२ टन चामल बढि आयात भएको छ। आव २०७५/७६ मा वीरगंज नाका भएर भारतबाट ११ करोड ७ लाख भन्सार तिरेर २ अर्ब २० करोड ७१ लाख ४९ हजार मूल्य बराबरको ८३ हजार १ सय ८५ टन धान आयात भएको थियो। चालु आवको माघ १२ सम्म १४ करोड ७८ लाख ८ हजार भन्सार महसुल तिरेर २ अर्ब ९४ करोड ८२ लाख ७३ हजार मूल्य बराबरको १ लाख १ हजार ५ सय ९० टन धान आयात भएको वीरगंज भन्सारले जनाएको छ ।
त्यसैगरी गत आवको साउनदेखि माघ १२ सम्म १० करोड १६ लाख ३ हजार भन्सार तिरेर १ अर्ब २९ करोड ५७ लाख ६३ हजार मूल्य बराबरको २३ हजार ८ सय ८५ टन चामल आयात भएको थियो। चालु आवको माघ १२ सम्म १३ करोड १७ लाख २ हजार भन्सार तिरेर १ अर्ब २३ करोड १९ लाख ४७ हजार मूल्य बराबरको २५ हजार ६ सय १७ टन चामल आयात भएको छ।