नेकपाको केन्द्रीय कमिटी बैठक आजबाट सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १५, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १५,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु हुँदैछ । बुधबारदेखि सुरु हुने बैठक सोमबारसम्म चल्ने नेकपाले जनाएको छ ।

पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गएको मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न लागेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेको अवस्थामा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

यस्तै महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेस गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने उनले जानकारी दिए ।

यसअघि गएको पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रिय सभाको निर्वाचनका कारण सारिएको थियो ।

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसयता बैठक हुन सकेको छैन ।

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ । पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ । केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस