माघ १८, काठमाण्डौ । चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा गरेको छ । नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको छ । ती विद्यार्थी उपचारपछि निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले नेपाल कोरोना भाइरसको जोखिममा नरहेको बताएका छन् । उनले सरकारले समयमै सतर्कता अपनाएका कारण जोखिम नरहेको स्पष्ट पारे । सचिव बरालले चीनबाट आएका एक जनालाई भाइरस पुष्टि भएको हो । चीनबाट आएका अन्य विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमण भेटिएन भने ।
के हो कोरोना भाइरस ?
नोबेल कोरोना एक प्रकारको भाइरस हो । सङ्क्रमणपछि यसले रुघाखोकीदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउँछ र सङ्क्रमितको मृत्युसमेत गराउँछ । अहिले कुनै लक्षण बिना नै कोरोना भाइरस सङ्क्रमित भएका घटना बाहिर आएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पहिचान नखुलेको कुनै पनि सङ्क्रामक भाइरस वा महामारीलाई पहिचान गर्नु अगाडि नोबेल नाम दिइने भएकाले यो सङ्क्रामक भाइरसको नाम नोबेल कोरोना भाइरस नामकरण गरिएको हो ।
कोरोना भाइरस डिसेम्बर अन्तिम सातामा चीनको वुहानबाट फैलिएको एक किसिमको भाइरस हो । यो भाइरस विश्वमा मानव जातिमा पहिलोपटक चीनमा देखिएको हो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार हालसम्म कसरी नोबेल कोरोना भाइरस मानव जातिमा फैलियो भन्ने अनुसन्धान पूरा भइसकेको छैन, गरिएका केवल आशङ्का हुन् । एक अनुुसन्धानले भने सर्पमा देखिने कोरोना भाइरससँंग नयाँ कोरोना भाइरस मिल्दोजुल्दो देखिएकाले सर्प मार्फत मानिसमा सरेको हो कि भन्ने आशङ्का गरिएको छ । अर्को अनुसन्धानमा चमेरो मार्फत सरेको आशङ्का गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले नोबेल कोरोना भाइरसलाई २०१९ एनसीओभी नाम दिएको छ ।