माघ १८, काठमाण्डौ । शारीरिक व्यायाम र मानसिक कसरत हुने पहिलेका खेललाई अचेल मोबाइल, आइप्याडले विस्थापित गरेको छ । मानिसको सहयोगी (दास) प्रविधि होइन, प्रविधिको दास मानिस बन्दै गएको छ । बाल्यकालमा जाडो महिनाको बिदा हुँदा गुच्चा खेलेको झलझली सम्झना आउँछ जनकवि दुर्गालाल श्रेष्ठलाई । उनले सहरका गल्ली, सडकमै गुच्चा खेल्दै कुद्ने गरेको सम्झना कहिल्यै बिर्सन नसक्ने बताए । उनले ती दिन धेरै रमाइला थिए । असनको चोकमा गुच्चा खरिद गर्न जान्थ्यौँ । एक पैसाको खरिद गथ्र्यौं होला त्यति सम्झना त भएन तर पनि खल्तीभरि गुच्चा हुन्थे । मोबाइलको जमानामा भने अचेल सहरमा गुच्चा खेल्ने बालबालिका पाउन गाह्रै छ । एक त खेल्ने ठाउँ पर्याप्त छैन, अर्को मोबाइलमै झुम्मिन्छन् प्रायः सबै बालबालिका भन्छन् ।
संस्कृतविद् सत्यमोहन जोशी आफ्नो निशानामा तारो हान्ने एकाग्र शक्ति वृद्धि गर्ने खेलमध्ये मेरो रोजाइ गुच्चा हो । काँचका गोला गुच्चा हाम्रो बगलीमा प्रायः सबैसँग हुन्थे भन्छन् । उनले गुच्चाले हानेर टाढाको गुच्चा ठोक्के ताक विकास गर्न निकै अभ्यास गरिन्थ्यो, बाल्यपनको सम्झना गर्दै घरका भित्तामा गुच्चा हानेर अभ्यास गर्दा भित्ताभरि दाग बस्थे । त्यो बदमासीको सजाय पनि पाइन्थ्यो भन्ने कुरा स्मरण गरे ।
गुच्चा दुई जनाको बीचमा खेलिन्छ । हार–जितमा गुच्चा नै लिने वा हार्नेले आफ्नो खुट्टाको गोलीगाँठोमा गुच्चाको ठोकाइ खाने सहमतिमा खेल सुरु हुन्थ्यो । गोलीगाँठो ठोक्ने सजायलाई ‘गौ छ्या य्गु’ भनिन्छ । जित्नेको दयामायामा त्यो ठोकाइ साह्रो या सामान्य हुन आउँछ । कहिले काहीँ रुनैपर्ने गरी ठोकाइ खाइन्छ ।