माघ १८, काठमाण्डौ । सरकारले नोवल कोरोना भाइरसको उदगमस्थल चीनको उहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए । तर फर्किएकालाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीन अनुमति दिनेछ ।
मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा प्रबन्ध मिलाइरहेको जानकारी दिए । गम्भीर संक्रमणमा रहेका बेला विद्यार्थी फिर्ता ल्याएर तत्काल आइसोलेसनमा राख्न नसके थप खतरा बढ्ने भएकाले सरकारले प्राथमिकतामा राखेर घरफिर्तीको समन्वनय गरिरहेको उनले बताए । यो खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
आइसोलेसनमा राख्न सैनिक मुख्यालय भवन, कीर्तिपुरको आयुर्वेद क्याम्पस भवन, भक्तपुरको विद्युत् प्राधिकरण तालिम केन्द्र, टेकु अस्पताललगायत स्थानबारे मूल्यांकन भइरहेको छ ।