स्वस्थानी व्रतकथाको बहुआयामिक महत्व

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ माघ २०, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

  – सन्दिप सापकोटा
अध्यक्ष, नेपाल सामाजिक विकास पुस्तकालय

नेपाली लोकजीवनको र लोकसंस्कृतिको अभिन्न अंगको रुपमा स्थापित स्वस्थानी व्रतकथा केवल अन्धविश्वास, कुरीति र नारी शोषणमा मात्र आधारित नभई अग्रगामी मानव विकास, उर्जाशील परिवर्तन र अठोटसँग अन्र्तसम्बन्धित रहेको छ । पौराणिक कालीन कथाका रुपमा वर्णन गरिने स्वस्थानी कथामा तत्कालीन समयका गरिब र ग्रामीण सामाजिक परिपाटीको प्रत्यक्षीभूत उठान गरिएको छ । समाजमा रहेका सामाजिक उत्पीडनलाई कथाका माध्यमबाट मुखरित गरिएको छ । वर्तमानमा स्वस्थानी समयसापेक्ष नरहेको, नारीलाई अपहेलित गरिएको, पितृसत्तात्मक समाजको उपज स्वस्थानी किन मान्ने जस्ता आवाजहरु बुलन्द रुपमा उठ्न थालेका छन् । स्वस्थानी कथाको संरचनागत उद्देश्य नीतिपरक भए पनि यसका पात्रको स्रोतको बारेमा भने प्रष्ट नभइसकेको अवस्था छ । संस्कृति, समाज र व्यक्तिको अन्योन्याश्रित सम्बन्ध हुन्छ । संस्कृति समाजमा नै निर्माण हुन्छ र समाज निर्मित संस्कृतिको व्यक्तिले अनुशरण गर्दछ, पालना गर्दछ । संस्कृति मन लाग्दैमा तुरुन्त सिर्जना हुँदैनन् र मन लाग्दैमा तुरुन्तै हटाउन सकिदैँन । निश्चित समाजको संस्कृतिमा कालान्तरमा अर्को समुदाय पनि गाभिन सक्छ वा कुनै समुदाय विलय भएर जान सक्छ । तर संस्कृति क्रमशः चल्दै जान्छ – या त यथा रुपमा वा त परिष्कृत स्वरुपमा ।

साक्षरता र स्वस्थानी व्रतकथा

स्वस्थानी कथाले दशक अगिको समयसम्म असाक्षर समाजमा साक्षरता अभिवृद्धि गर्न ज्यादै नै ठूलो भूमिका खेलेको हो । समाजमा स्वस्थानी पढ्न सक्ने व्यक्ति भनेर मानक नै कायम गरिन्थ्यो । छिट्फुट् रुपमा ग्रामीण परिवेशमा आज पर्यन्त पनि उक्त मापदण्डको पुनरावृत्ति सुन्न सकिन्छ । विशेष गरि साँवा अक्षर चिन्ने महिलाहरुले स्वस्थानी व्रत अवधिमा व्रतकथा पढ्ने हुनाले सजिलै सँग चिठीपत्र पढ्न र लेख्न सक्ने, सामान्य पाठहरु पढ्न र नाम लेख्न सक्ने सामाथ्र्य राख्न सक्थे । तर सञ्चारका साधन र पाठ्यसामग्रीको विविधताले पनि अहिले परम्परागत साक्षरताको अध्याय समाप्त भैसकेको छ ।

सृष्टिको विस्तार र खगोल विज्ञान

स्वस्थानी व्रत कथा भित्र यस्ता अनगिन्ती पात्रहरु छन्, जसले वर्तमान परिप्रेक्षले खोजिरहेका आवश्यकताहरुको प्रतिबिम्बन गर्दछ तर कथामा उल्लेखित कतिपय प्रसङ्गहरू अहिले अनुपयुक्त मात्र होइन, अपाच्य पनि भैसकेका छन् । सृष्टिको उत्पत्तिको विस्तार देखि सुरुवात भएको कथा अहिलेका वैज्ञानिकहरुले ल्याइरहेका विभिन्न हाइफोथेसिस र सिद्धान्तहरु भन्दा फरक नहोला, अझ यसमा सूक्ष्मतम ज्ञानको प्रसार भएको छ । सरसर हेर्दा वैज्ञानिकहरुले पात्र विहीन उर्जा र शक्तिको वर्णन गर्दै सृष्टिको विकास एवं विस्तार भएको मतलाई अगाडी सारे र स्वस्थानी कथाले पात्र र विभिन्न चरित्र सहितका विषयवस्तुलाई उठान गरेर सृष्टिको प्रार्दुभावको चर्चा गरेको छ । यति मात्र नभई स्वस्थानी भूगोल भनेर विभिन्न पर्वत, समुन्द्र, महादेश, नदीनाला आदिको प्रासंगिक वर्णन स्वस्थानी कथामा गरिएको छ । यति मात्र नभई मानव सृष्टि र मानव विकासको महत्वपूर्ण अवधारणलाई अगाडी सारिएको छ ।

रहस्यवाद की चिकित्साशास्त्र ?
स्वस्थानी व्रतकथाको अर्को अध्यायमा वर्णित शिव निन्दा गर्ने दक्षप्रजापतिको शिर क्षेदन वीरभद्रले गरेपछि दक्ष स्त्री विरणीले माफी मागेपछि यज्ञमा बलि दिएको बोकाको टाउकोलाई उल्टो पारेर जोडेको कथाको सविस्तार वर्णन गरिएको छ । यसले प्राचीन कालमा बोकाको टाउकोसँग मान्छेको धड जोडेर पनि मानिस बाँच्न सक्छ वा मानव अंग प्रत्यारोपण हुन सक्ने कुरालाई उठान गरेको छ । अहिले नासाले बाँदरको अलग गरिएको शिर र धडलाई पुनः जोडेर बाँच्नु सम्भव छ वा छैन भनेर परीक्षण गरिरहेको छ र परीक्षण गरिएको उक्त बाँदर शरीर मात्र हल्लाउन सक्ने अर्धचेत अवस्थामा रहेको जानकारी भएको छ । रहस्यवादको पर्दा स्वस्थानीमा लगाइएको छ भन्ने चर्चा गरिनु अलि सान्दर्भिक नहोला किनभने उक्त क्रियाकलाप आजको फ्युजन र हाइब्रिड भन्दा बिलकुलै फरक छैन ।

सरसफाइ र स्वस्थानी

स्वस्थानी व्रत कथामा वर्णित पौषशुक्ल पूर्णिमामा हातगोडाका नङहरु काटी, एकचित्त भई, शुद्धसँग व्रत विधिको पालना गर्दै…. आदि जस्ता नियमहरुले सरसफाईमा विशेष जोड दिएको छ । माघ महिनामा निर्मल ठण्डा जलले नुहाएर व्रत बस्ने , नदी किनारमा मध्यान्हकालीन शिव शक्ति पूजनले शास्त्रीय मान्यताको हठयोग र सिर्जनको पूजालाई संकेत गर्दछ । माघ महिनामा दिउँसो घाममा बस्दा को चाहिँ आह्लादित नहोला ? प्रकृति र पुरुष एक अर्काका पूरक हुन् भन्ने रहस्यलाई स्वस्थानी कथाले सौम्य चित्रण गरेको छ । समाजमा रहेका उत्शृङ्खल कृयाकलापलाई नियन्त्रित गर्दै एकाग्रता र विधिको पालना गरेर आफ्नो सत्मा बस्दा असम्भव कुराहरु पनि पूरा हुने स्वस्थानी कथामा वर्णन छ । स्व–स्थानमा बसेर वातावरण र शरीरलाई सफा राखेर संयम चित्तमा बसेर परम तत्वको चिन्तन गर्दा मान्छेमा सकारात्मक उर्जाको विकास हुन्छ र समाज पनि सकारात्मक दिशा तर्फ उन्मुख हुन्छ ।

संघर्षले नै सार्थकता दिन्छ

स्वस्थानी कथामा गोमा ब्राह्मणीको संघर्षशील जीवनलाई दर्शाइएको छ । मनोव्यथा छात्तीमा भरपुर राखेर नियतिलाई धिक्कार्दै गरिब जिन्दगीलाई प्रयोगशाला बनाउन पुगेकी गोमाले न माइती न त घरबाट नै अलिकति पनि सुख पाइनन् । उल्टै छोरा परदेश गएपछि पुत्र वियोगका साथै बुहारीले अलिकति पनि साथ नदिएर माइततिर भाग्नु बिडम्बना हो । तर जस्तो सुकै परिस्थितिमा पनि नहारी आफ्नो छोरालाई सांसारिक जीवनको सर्वोच्च पद चक्रवर्ती सम्राट बनाएकी गोमाको जीवन अन्त्यमा सार्थक पनि भएको छ । यसको तात्पर्य जस्तोसुकै विकट परिस्थितिमा पनि संर्घष गर्दा मानिस सुखी र सफल बन्न पुग्दछ भन्ने हो ।

नयाँ पुस्तालाई प्रोत्साहन

स्वस्थानी व्रतकथाको अन्त्यमा गोमा ब्राह्मणीले आफ्ना बुहारीहरु चन्द्रावती र लावण्यवतीलाई राजढुकुटीको साँचो हस्तान्तरणको संकेत समाजमा पुराना पुस्ताले क्रमशः नयाँ पुस्तालाई परिपाटी हस्तान्तरण गरि समाजलाई क्रियाशील र अग्रगामी बनाउनु पर्छ भन्ने हो । यसको तात्पर्य फेरि ज्येष्ठ पुस्ताको उपेक्ष गर्नु भन्ने चाहिँ कदापि होइन । समाजमा पाका व्यक्तिहरुको निर्देशनमा रही आवश्यक सरसल्लाह लिएर अग्रगामी विकासमा उत्प्रेरित हुनुपर्ने तर्फ संकेत गर्दछ ।

शक्ति (नारी) नै सर्वोपरि

सतही विश्लेषण नै गर्ने हो भने पनि स्वस्थानी व्रतमा (प्रकृति÷शक्ति) नारी कै पूजा हुन्छ । शक्ति नै संसार को अस्तित्वको मुख्य श्रोत हो । नारीले नै जगत्मा पूर्णता प्रदान गर्छिन् । शास्त्रमा नै लेखिएको छ– शक्तिबिना शिव केवल शव हो । शिवत्व प्राप्त गर्न शक्तिको वास चाहिन्छ । त्यसैले सनातनीय संस्कारमा शक्तिलाई नै प्रधानता दिइएको हुन्छ । स्वस्थानीमा वर्णन गरिएका अष्ट मातृकाहरु ः ब्राह्मी (सृष्टि गर्ने ब्रह्माकी शक्ति), नारायणी (पालन गर्ने नारायणकी शक्ति) महेश्वरी (संहार गर्ने महेश्वरकी शक्ति), कौमारी (कुमारको शासकीय शक्ति), वाराही (वराहकी पृथ्वी ÷धारण शक्ति), इन्द्राणी (इन्द्रकी राज्य शक्ति), चामुण्डा (शिवकी आत्मशक्ति) र महाकाली (कालशक्ति) आदिको पूजा स्वस्थानीमा गरिन्छ । यी विविध शक्तिहरुको सम्बन्ध मानिससँग प्रत्यक्ष परोक्ष रुपमा कायम रहेको हुन्छ । स्वस्थानीलाई यिनै अष्टमातृकाहरुको सम्पूर्ण शक्ति भएकी प्रधान देवता मान्ने गरिन्छ । स्व–स्थानमा बसेर स्वस्थानीको पूजाआराधना आत्म विकास, पारिवारिक मेलमिलाप, शान्ति, समृद्धि लगायतका लागि गर्ने गरिन्छ । ऋतुजन्य विकार, चिन्ता, ताप, द्वेष आदि हटाएर जीवनलाई सुखमय र आनन्दित बनाउनु स्वस्थानी व्रतको मूल उद्देश्य हो ।

समयसँगै फेरिएको स्वस्थानी

बदलिदोँ समय क्रम सँगै स्वस्थानी कथालाई पुराणकारले आफू अनुसार ढाल्दै गएको अनुभूति कथा पढ्दा जो कोहीले पनि प्राप्त गर्न सक्छ । राष्ट्रिय अभिलेखालयमा रहेको लगत नं १९१ को संस्कृत स्वस्थानी सर्वप्रथम वि.सं. १६२९(ने.सं.६९३) मा लेखिएको र यो जम्मा ८ पत्रको रहेको र पछि विस्तारित हुने क्रमसँगै यसमा विभिन्न पुराणहरूका अनेक प्रसंगहरू थपिँदै आजको बृहत् रुपमा आएको मानिन्छ । संस्कृतमा लेखिएको ३० वर्ष पछि नेवारी भाषामा ३४ पत्रे र २३७ वर्ष पछि मात्र नेपाली भाषामा ५५ पत्रे स्वस्थानी लेखिएको अध्ययनबाट जानकारीमा आएको छ । “एकतीस अध्याय र एक महिनाको व्रत पनि पछिल्लो समयको रूपान्तरण हो । यसअघि बाइस अध्याय मात्र थियो । प्रचलित स्वस्थानी कथा किताबमा उल्लेख गरिने स्वस्थानी व्रत तथा पूजा विधि नेपाली भाषामा स्वस्थानी प्रचलनमा आएपछि विकास गरिएको हो। व्रतरउपासना पनि अड्चालिस घन्टेबाट एक महिनामा अठारौँ शताब्दीमा मात्र विस्तार गरेको प्रमाण पाइएको छ (बर्केन्होल्ज, पृ. १०९) ।”

स्वस्थानीमा चार्तुयवादको प्रभाव

नारीलाई स्वस्थानी कथामा पंक्तिकारका आफ्ना मनो इच्छाका आधारमा वर्णित गरको पाइन्छ । कथामा केवल पुरुषलाई मात्रै सर्वोपरि राखिएको भन्ने चाहिँ अलि असान्दर्भिक छ । आदिम देखि आज पर्यन्त समाजमा राज टाँठाबाठाले गर्छन् या पुरुष हुन् या महिला । समाजमा यस्ता पनि चरित्र छन् जो अशिक्षित छन्, असक्षम छन् ,असाक्षर छन्, गरिबीको रेखा मुनि छन् , दलित छन्, दमित छन्, हेपिएका छन् र मूकदर्शक बनेर समाजमा आफ्नो अस्तित्वको खोजी गर्दै हिँड्छन् । यस्ता अस्तित्वहीन मान्छेको साहारा बने जस्तो गरेर टाँठाबाठाले समाजमा भ्रमको खेती गर्छन्, मनोवाञ्छित तरिकाले समाजको गतिलाई दिग्भ्रमित पार्छन् र आफ्नो स्वार्थ तिर समाजलाई दिशानिर्देश गर्छन् । सटीक भन्नु पर्दा समाज पितृसत्तात्मक होइन चातुर्यवृत्तिको समाज हो जहाँ निसङ्कोच धर्मका नाममा, संस्कृतिका नाममा, जातजातिका नाममा, रहनसहन र थिती थलोका नाममा पुराख्यानको सिर्जना गरिन्छ र पुरुषायित समाजको नाममा खुलेआम निमुखाहरुको दिमाग भुटेर कहिले नारी हिंसा गरिन्छ, कहिले बाहुन र दलितका नाममा जातीय द्वन्द सिर्जना गरिन्छ, कहिले हिन्दु र क्रिश्चियनका नाममा धार्मिक मतविभेद र कलह सिर्जना गरिन्छ । यसरी टाँठाबाठाले उपेक्षित वर्गहरु माथि दोहन गरेर समाजमा अरुलाई दोषरोप गर्दछन् र आफू पानी माथिको ओभानो बनि बस्छन् । स्वस्थानी कथामा पनि यही समाजको प्रतिछाँया परेको हो ।

प्रायोगिक की नियतवश ?

७ वर्षकी गोमा ब्राह्मणी र ७० वर्षको बुढो शिवशर्मा ब्राह्मणको अनमेल विवाहलाई स्वस्थानी कथाको प्रमुख जडका रुपमा लिइन्छ । तत्कालीन परिपाटीको समाजमा जनसंख्या ज्यादै न्यून थियो, सामाजिक संरचनामा विवाहलाई ज्यादै महत्वपूर्ण कृत्यको रुपमा लिइन्थ्यो । रजस्वला नभइ नै छोरीको कन्यादान दिँदा स्वर्ग प्राप्त हुने र समाजमा विवाह नहुनेको सामाजिक अपहेलना हुने हँुदा र छोरीको निम्ती योग्य वर पाउन नसकेको हुँदा बाध्यात्मक –परिस्थितिवश यो विवाह सम्पन्न भएको देखिन्छ । फेरि ७० वर्षीय वृद्ध शिव शर्माले ७ वर्षीय गोमा ब्राह्मणीका बुबा शिव भट्ट ब्राह्मणलाई छोरी नदिए आत्म त्याग गर्ने भन्ने डर देखाए पछि ब्रह्महत्याको डरले बाध्यकारी भूमिका निर्वाह गर्नुपर्यो । शिव शर्माले आत्मदाह गर्ने र ब्रह्महत्याको पाप लाग्ने धम्की दिएर भट्ट दम्पतिको भयदोहन गरेका हुन् । तत्कालीन समाजमा पनि ब्राह्मण भन्ने बित्तिकै सम्मान, इज्जत र उच्च मर्यादा राख्नु पर्ने सामाजिक परिपाटीको विकास र विस्तार भएको देखिन्छ । यो परिपाटी नै यसको प्रमुख सूत्राधार हो । समाजको वर्णपटमा लेखिएका यी गम्भीर अक्षरहरु मेट्न मान्यताहरु माथिको अन्तर्बोधको अपरिहार्य छ ।

आस्था र संस्कृति
मान्छे भित्रको आस्था सबैभन्दा बलियो हुन्छ । अझ धार्मिक आस्था त यति मजबूत हुन्छ कि यसलाई भत्काउन त्यति सजिलो छैन । त्यसैले त करिब साढे चारसय वर्ष अघि(वि.सं.१६२९) लेखिएको एउटा सानो स्थानीय कथाले विस्तारै आफ्नो कथनलाई फैलाउँदै ठूलो आकार लिएर आज पनि व्यापक मान्यता प्राप्त गरिरहेछ । शुरुमा एउटा कुनै जातिविशेष (नेवार)ले गर्ने गरेको व्रत आज अन्य जातिले पनि गर्ने गरेको पाइनुले यो एउटा सिमित घेराबाट माथि उठेको देखिन्छ । संस्कृतबाट नेवारी, नेवारीबाट नेपाली र नेपालीबाट अन्यभाषा (हिन्दी लगायत)भाषामा उल्था हुनु र विभिन्न समुदायले स्वस्थानी मनाउनु संस्कृतिको साटासाट र परिष्करण हो । वरिष्ठ संस्कृतिविद् महेश्वर जुजु राजोपाध्याय स्वस्थानीको बारेमा ‘कुनै पनि संस्कृति राष्ट्रको सम्पदा हो । राष्ट्रको अस्तित्व जोगाउन संस्कृतिको पनि जगेर्ना गर्नुपर्छ । स्वस्थानी कथा लेख्नुको उद्देश्य पनि यही हो । स्वस्थानी व्रतकथामा उल्लेखित पात्रहरू महादेव, सतीदेवी तथा पार्वतीको सम्बन्ध नेपालकै पवित्र तीर्थस्थल पाशुपत् क्षेत्रसँग रहेकोले स्वस्थानीको महत्वको पनि यस क्षेत्रसँग जोडिएको छ । शिव–पार्वती नेपालका प्राचीन आदिवासी किराँतहरूका आराध्य देव भएको र स्वस्थानी नेपालको किराँतकालीन इतिहास भएकोले यसको महत्वलाई जोगाइराख्न स्वस्थानी व्रत परम्परालाई निरन्तरता दिनु आवश्यक हुन्छ । त्यसै गरि गोमा नवराजको कथाको सेरोफेरोले वनेपा र भक्तपुरलाई समेटेको हुनाले पनि स्वस्थानी नेपालको प्राचीन इतिहास हो भनेर भन्न सकिन्छ । अतः इतिहासको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’ भनेर भन्नुहुन्छ ।
धर्ममा आधारित रहेर संस्कृति र समयसँगै इतिहासमा तत्कालीन समयका प्रायिक विषयवस्तुहरुको नै उठान गरिने परम्परा हुन्छ । हिजो उठान गरिएका विषयवस्तु सर्वकालिक हुनै पर्छ भन्ने छैन । आजका समय सान्दर्भिक कतिपय विचारधाराहरु भोलिका रुग्ण अस्थिपञ्जरहरु बन्नेछन् । अबको परिदृश्यमा शिखाधर हुँदैमा अतिविशिष्ट हुन्छ भन्ने छैन र लौहशिल्पी हुँदैमा केही नजान्ने भन्ने हुँदैन । समाज त परिवर्तनीय छ – संस्कृति सर्वथा मानव हितार्थ हो । स्वस्थानीमा वर्णित पात्रहरुले नकारात्मकता तिर प्रेरित गरेको होइन ः समाजमा साक्षरताका अभावमा पिल्सिएका अत्यन्त सिधा र सरल ग्रामीण नारी र नरहरुलाई सम्भावित जोखिमका लागि तयार पारेको हो । समाजमा आउन सक्ने गतिरोध, परिवारमा आउन सक्ने कलह, काम , क्रोध, लोभ, मोहआदि मानवीय विकारका नकारात्मक परिणामको प्रत्ययान्त को बारेमा स्वस्थानी कथाले यर्थाथतालाई समाजमा पस्केको हो । स्वस्थानी व्रतकथाले समाजमा रहेका कलुषिततालाई हटाई शान्ति, भाइचारा र विश्वबन्धुत्व कायम गर्न विशिष्ट योगदान पुर्याएको छ । स्वस्थानी व्रत र कथाका बारेमा सम्बन्धित निकाय र बौद्धिक र प्राज्ञिक जनले विशेष रुचि साथ ध्यान दिनु अपरिहार्य छ ।

ताजा अपडेट

खोजी गर्नुहोस