माघ २०, काठमाण्डौ । थाईल्याण्डका एक चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट संक्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको उल्लेख गरेका छन् । तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औषधीलाई मिसाएर खान दिदाँ बिरामीलाई सन्चो भएको जानकारी दिए ।
बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए । डा.क्रियाङसकका अनुसार ती किरामी महिलालाई एचआईभीको उपचारमा प्रयोग हुने औषधी र फ्लू हुदाँ खाइने औषधिको मिश्रण दिइएको थियो ।
अस्पताल प्रशासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बिरामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । उता, बेइजिङका अस्पतालहरुले केही बिरामीलाई एचआईभी उपचारमा प्रयोग हुने औषधी दिएर निगरानी गरिरहेको थिए । तर यसले परिणाम बाहिर आएको छैन ।