विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, १७ करोड मात्रै वितरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १८, काठमाण्डौ । विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन्  । अघिल्लो आर्थिक वर्षमा माध्यमिक तह ९कक्षा ९–१२० मा ५३ हजार पाँच सय ५९ विपन्न विद्यार्थीलाई लक्षित गरी ९८ करोड ५१ लाख चार हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर, १२ हजार सात सयले मात्र छात्रवृत्ति पाएका छन् । यसरी करिब एक अर्ब बजेटबाट १७ करोड ५१ लाख १० हजार मात्र वितरण भएको छ ।

विपन्नलक्षित छात्रवृत्ति पाउन विद्यार्थीले अनलाइनमार्फत ‘प्रोक्सी मिन्स टेस्टिङ’ ९पिएमटी० फारम भरेर विपन्न भएको पुष्टि गर्नुपर्छ । यसरी प्रक्रिया पु¥याएर आवेदन नगरे छात्रवृत्ति पाइँदैन । तर, सरकारी जाँचमा विद्यार्थीको विवरण पुष्टि हुनुपर्छ । कक्षा १० मा फारम भरेर छनोटमा परेपछि कक्षा ११ मा बैंक खाता खोल्नुपर्छ । तब मात्र छात्रवृत्ति रकम बैंकमा जम्मा हुन्छ । यो सबै प्रक्रिया पूरा भएकाले मात्र छात्रवृत्ति पाउँछन् ।

तर, धेरै विद्यार्थी फारम खुलेको थाहा पाउँदैनन् । थाहा पाउनेले पनि अनलाइन विवरण भर्न सक्दैनन् । विद्यालयले थाहा पाए पनि विद्यार्थीलाई सहयोग गर्दैनन् । फारम भरेर छनोट भएका विद्यार्थीले पनि बैंकमा खाता खोल्नुपर्छ भन्ने जानकारी पाउँदैनन् । यसरी विभिन्न झन्झटिलो प्रक्रिया पार गर्दा धेरै विद्यार्थी खाली हात हुन्छन् । विपन्न विद्यार्थी पढाइ छाड्छन्, सरकारी बजेट फ्रिज हुन्छ ।

आर्थिक वर्ष ०७४–७५ देखि शिक्षा मन्त्रालयले माध्यमिक तह ९कक्षा ९–१२० मा विपन्नलक्षित छात्रवृत्ति कार्यक्रम ल्याएको थियो । मन्त्रालयले कक्षा ११ र १२ मा विज्ञान पढ्ने विद्यार्थीलाई वार्षिक २४ हजार र अन्यलाई १८ हजार दिने व्यवस्था गरेको छ । त्यसैगरी कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक ६ हजार रुपैयाँ दिने व्यवस्था छ ।

तर, पहिले एक हजार सात सयसम्म छात्रवृत्ति पाउने विद्यार्थी समेत विपन्नलक्षित छात्रवृत्ति सुरु भएपछि पुरानो रकम पाउनबाट वञ्चित भएका छन् । माध्यमिक तहमा मात्र करिब ६० हजारले छात्रवृत्ति पाउँदै आएका थिए । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले विपन्न विद्यार्थी छनोट र रकम वितरणको जिम्मा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिलाई दिएको छ । समितिका अनुसार आर्थिक वर्ष ०७५–७६ मा १२ हजार सात सय २५ विपन्न विद्यार्थीले मात्र छात्रवृत्ति पाएका छन् ।

समितिको तथ्यांकअनुसार ०७५–७६ मा कक्षा ९ मा तीन हजार आठ सय ५७ छात्रा र तीन हजार ४० छात्र गरी कुल ६ हजार आठ सय ९७ ले छात्रवृत्ति पाए । त्यसैगरी कक्षा १० मा दुई हजार ४८ छात्रा र एक हजार पाँच सय २८ छात्र गरी तीन हजार ७६ ले छात्रबृत्ति पाए । कक्षा ११ मा एक हजार चार सय ७२ छात्रा र आठ सय ८० छात्रा गरी दुई हजार दुई सयले छात्रबृत्ति पाए ।

केन्द्रका अनुसार सो आर्थिक वर्षमा विज्ञानबाहेक ९९–१२ कक्षासम्म०का विषयमा अध्ययन गर्ने ५० हजार ५२ विद्यार्थीलाई लक्षित गरी ९० करोड ९ लाख ३६ हजार रकम बिनियोजन भएको थियो । कक्षा ११ र १२ मा बिज्ञान पढ्ने तीन हजार पाँच सय सात विद्यार्थीका लागि आठ करोड ४१ लाख ६८ हजार रुपैया बिनियोजन भएको थियो ।

०७४–०७५ मा २५ जिल्लाबाट विपन्न विद्यार्थीलाई लक्षित गरी माध्यमिक तहमा यस्तो कार्यक्रम सुरु भएको थियो । पहिलो वर्षमा समितिमार्फत पाँच हजार आठ सय १२ विद्यार्थीलाई आठ करोड ९४ लाख ७२ हजार रुपैया बितरण गरेको समितिका अनुगमन अधिकृत तारा चौहानले बताए ।

उनले फारम भर्नेहरूले खाता खोलेर समितिमा जानकारी नगराउँदा रकम बितरणमा समस्या भएको बताए । ‘विद्यार्थी छनोट भएको जानकारी नहुने तथा बैंकमा खाता खोल्ने विद्यार्थीको इन्ट्री विद्यालयले नगरिदिँदा समस्या भएको हो,’ उनले भने ।

यसपालि सवा अर्ब बजेट, फारम भराउँदै
सरकारले यस वर्ष एक लाख २५ हजार पाँच सय ९२ विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन एक अर्ब २६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । तर, फारम भराउने काम बल्ल सुरु भएको छ ।

कक्षा ९ र १० का लागि कक्षा ८ र कक्षा ११ का लागि कक्षा १० का विद्यार्थीलाई फारम भराइदैछ । कक्षा ९ र १० को शैक्षिकसत्र बैशाखमा सुरु हुन्छ । नयाँ छात्रवृत्ति प्रक्रिया सुरु गर्न केहि समय अघिमात्र शिक्षा मन्त्रालय र समितिबीच हस्ताक्षर भएको छ ।

यस वर्ष कक्षा ९ र १० मा अध्ययनरत ८७ हजार ५१ विद्यार्थीलाई छात्रबृत्ति दिने लक्ष्यसहित ५२ करोड २३ लाख ६ हजार रुपैयाँ बिनियोजन भएको छ । त्यसैगरी कक्षा ११ र १२ मा बिज्ञानबाहेकका विषय अध्ययन गर्ने २९ हजार आठ सय ३६ विद्यार्थीका लागि ५३ करोड ७० लाख आठ हजार बिनियोजन भएको छ । कक्षा ११ र १२ का लागि बिज्ञान विषय अध्ययन गर्ने आठ हजार सात सय पाँच विद्यार्थीका लागि २० करोड ८८ लाख ८६ हजार बिनियोजन भएको छ । नयाँ पत्रिका दैनिकबाट

 

ताजा अपडेट

खोजी गर्नुहोस