नेकपाका अध्यक्षद्वयलाई मार्मिक पत्र : असमझदारीको आगो निभाउने अभिभारा कसको ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

-रश्मि आचार्य 


पार्टी एकता भएको दुई वर्ष नपुग्दै नेकपाभित्र विकसित असमझदारीको भुंग्रोले धेरैलाई चिन्तित बनाएको छ । गत निर्वाचनमा स्थिरता, सुशासन र समृद्धिको आशामा नेकपालाई मतदान गरेका लाखौँ मतदाताको मनमा यतिवेला गहिरो चिसो पसेको छ  । अब के हुने हो ? नेकपा पूर्ण रूपले नजुट्दै फुट्न खोजेको हो र ? देश अस्थिरताको भुमरीमा पुनः फस्ने त होइन ? आमजनताका आशामाथि तुषारापात हुने त होइन ? अनेकौँ आशंका जन्मेका छन् । यी आशंकाको निवारण तपाईंहरू (नेकपाका अध्यक्षद्वय) बाहेक अरूले गर्न सक्दैन । जनादेश र तपाईंहरूकै दृढ इच्छाशक्तिको फ्युजनबाट देशले दशकौँपछि स्थिर सरकार पायो ।

विभिन्न भंगालामा विभक्त नेपालको कम्युनिस्ट आन्दोलन एकीकरण भई नेकपा बन्यो । कम्युनिस्ट आन्दोलनमा एउटै भूमिमा एकै समयमा शान्तिपूर्ण र सशस्त्र दुई भिन्न धारले हासिल गरेका विशिष्ट अनुभवलाई एउटै धारमा हिँडाउने जोखिम मिश्रित ऐतिहासिक काम यहाँहरूकै नेतृत्वमा सम्भव भयो । तसर्थ, दुनियाँलाई झस्काउने यो युगीन महत्वको एकताविरुद्ध भइरहेका र हुन सक्ने षड्यन्त्र पहिचान गर्न यहाँहरूको समान बुझाइ आजको पेचिलो परिस्थितिले माग गरेको छ ।

तपाईंहरूलाई अवगत नै छ, यतिवेला राजनीतिक बजार तताउनेहरू थरीथरीका छन् । एकथरी तपाईंहरूको एकता भाँड्ने गुरुयोजनाबाट प्रेरित छन् । उनीहरू कहाँ चर पाइन्छ, के उछाल्दा असमझदारी बढ्छ भनेर माइक्रोसकोप लिएर हिँडेका छन् । पार्टीभित्रैका अर्काथरी नियोजित हो वा बहकिएर हो, एकताअघिको धार (एमाले र एमाओवादी) मा रंगिएरएकताविरुद्ध वाण सोझ्याइरहेका छन् ।

दुनियाँलाई झस्काउने यो युगीन महत्वको एकताविरुद्ध भइरहेका र हुन सक्ने षड्यन्त्र पहिचान गर्न यहाँहरूको समान बुझाइ आजको पेचिलो परिस्थितिले माग गरेको छ । उनीहरू लार्भाबाट पुतली बनिसकेको तथ्य बिर्सेर पुनः लार्भामा फर्कन खोजिरहेका छन् । भित्र र बाहिरका अनेकथरीसँग जोगिन पहिलो सतर्कता चाहिएको छ । वामपन्थी पार्टीहरू एक भएको लामो अन्तरालसम्म पूर्वसमूह ९माले, एमाले, माक्र्सवादी, चौम, मशाल, मसाल, एकता केन्द्र, माओवादी केन्द्र० का मनोविज्ञान जीवितै देखिएका छन् । त्यसैको आधारमा नजिक वा टाढा, घनिष्ठ वा कनिष्ठका रेखा कोरिएकै छन् ।

यस्ता संकीर्ण चिन्तनले विहंगम एकतालाई संकुचित बनाउँछ । पूर्वसमूह चलाउँदै जाँदा नेतापिच्छेका समूह स्थायी रूपमा बन्ने र परिणामतः नेपाल कम्युनिस्ट पार्टी पूर्वसमूहहरूको महासंघ बन्न धेरै समय पर्खनै पर्दैन । नेकपालाई नयाँ शिराबाट अगाडि बढाउन यस्तो वंशाणुगत समस्याबाट बाहिर निकाल्न तपाईंहरूको अग्रसरता अपरिहार्य छ । सेती र काली गण्डकी मिसिएर नारायणी बनेपछि पुनः सेती वा कालीगण्डकीकै साँधसिमाना खोज्दै गएर रंग छुट्याउन तम्सनु भनेको पूर्णतः उल्टो बाटो हिँड्नु हो । यस्ता गलत अभ्यासलाई निर्ममतापूर्वक रोक्नैपर्छ ।

दुई पार्टी एक भएको दुई वर्ष बित्नै लाग्दा पनि एकता पूर्ण रूपले नसकिएकाले पूर्वपार्टीको मनोविज्ञान कायमै देखिन्छ  । महरा प्रकरणलाई पूर्वएमाले पंक्तिले र बाँस्कोटा प्रकरणलाई पूर्वएमाओवादी पंक्तिले एक–अर्काविरुद्ध प्रहार गर्ने अस्त्र ठान्नु सतहमा प्रकटित तीतो सत्य हो । एउटै पार्टीभित्रका दुई पक्षले एक–अर्काविरुद्ध सार्वजनिक रूपमा उछित्तो काड्नु, नेकपाको दीर्घजीवनका लागि हानिकारक छ ।

एक अध्यक्षले अर्को अध्यक्षबाट असुरक्षित महसुस गर्नु, पार्टीले सरकार दोषी देख्नु र सरकारले पार्टीमा समस्या ठान्नुजस्ता होलसेल विषयले सही समाधान दिनै सक्दैन । यसका लागि वस्तुनिष्ठ समीक्षा जरुरी छ । नेकपा र वर्तमान सरकारसँग जनताले राखेको भरोसा र विश्वासलाई परिणाममा बदल्ने दायित्वबाट न त पार्टी उम्कन पाउँछ न त सरकार नै ।

इतिहासको तीतो सत्यले भन्छ– बहुमतको सदुपयोग नहुँदा देश र जनताले पटकपटक सास्ती खेपेका छन् । २०१५ र ०४८ का घटनाक्रमले यस्तै शिक्षा दिन्छ । एउटै पार्टीभित्र पात्र फेरेर दिएका क्षणिक समाधान दीर्घकालमा प्रत्युत्पादक भएका छन् । एक समय संसद्मा कांग्रेसको बहुमत हुँदाहुँदै कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार गिराएर सोही पार्टीका अर्का नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्यो । यो खेलोले न कांग्रेस जोगियो न त देश नै उँभो लाग्यो ।

विगतमा यस्तो रोग कांग्रेस हुँदै अरू पार्टीमा पनि स¥यो । एउटा पार्टीको बहुमत नभए पनि साझेदार पार्टीहरूको सहयोगमा तत्कालीन एमाले नेता माधव नेपाल नेतृत्वको सरकार विस्थापित गरेर एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बन्यो । एक समय राप्रपा नेता सूर्यबहादुर थापाको सरकार ढालेर अर्का पूर्वपञ्च लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाउन कांग्रेस र कम्युनिस्ट नै लहसिए । उही पार्टीको एउटा नेतालाई हटाएर अर्को नेताको नेतृत्वमा सरकार बनाउँदा थप एक थान सरकार, केही नयाँ मन्त्री र अस्थिरताबाहेक देशले केही पाएन । यो अतीतबाट शिक्षा लिने कि नलिने ? आजको मुख्य प्रश्न यही हो ।

स्थिर सरकार नेपालको समृद्धि पथमा एक अनिवार्य सर्त हो । स्थिरता, सुशासन र समृद्धि भाषणमा धेरै सुनिने, तर खोज्दा नभेटिने अतीतको यथार्थ हो । देशले नपहिल्याएको मूल गोरेटो यही थियो । गत निर्वाचनपछि जब देशले नयाँ बाटो पक्रियो तब समृद्धिको अभियानले आकार ग्रहण ग(यो । मिश्रित चुनाव प्रणाली अपनाउँदा पनि केन्द्र र ६ प्रदेशमा भारी बहुमतसहित नेकपाका सरकार बन्नु निकै ठूलो उपलब्धि हो । यो अवस्था निर्माण हुनुमा आमजनताको स्थिर सरकारप्रतिको दृढ चाहना एउटा महत्वपूर्ण आधार हो । यसकारण आजको संगीन अवस्थामा नेकपासामु अथाह अवसर र चुनौती दुवै छन् । समयको पदचाप र युगको चाहनालाई बुझिएन भने यस्तो अवस्था पुनः नआउन सक्छ ।

एक अध्यक्षले अर्को अध्यक्षबाट असुरक्षित महसुस गर्ने, पार्टीले सरकार दोषी देख्ने, सरकारले पार्टीमा समस्या भएको ठान्नेजस्ता होलसेल विषयले पार्टीमा समाधान दिन सक्दैन । विश्वभरि कम्युनिस्ट पंक्तिले धक्का खाइरहेको वेला नेपालमा भने हँसिया र हथौडाको झन्डा बोकेर लोकतान्त्रिक विधिबाट कम्युनिस्ट पार्टी दुईतिहाइको नजिक यही कालखण्डमा पुगेको छ । संघीय संरचनाको खाका कोर्ने, विकास र समृद्धिको नयाँ लोकमार्ग निर्माण गर्ने युगीन अवसर पनि यही समयमा जुरेको छ ।

कम्युनिस्टहरूले अवसर पाए गर्छन् भनी प्रमाणित गर्ने दुर्लभ मौका समयले नेकपालाई नै दिएको छ । गर्दा जस र नगर्दा अपजस सँगसँगै आउने पहलु हुन् । यसर्थ, नेकपालाई दीर्घजीवी बनाउने वा डाइनोसर बनाउने वर्तमानमा नै निहित छ । आमजनताले गरेको ‘डेलिभरी राजनीति’ को युग सुरु हुने अपेक्षा शतप्रतिशत न्यायोचित छ । यदि, तर, यद्यपि, तैपनि, हुनुपर्ने जस्ता शब्दावली प्रयोग गर्ने छुट यो समयमा छैन । आफ्नै कलहमा रमाउने, अरूलाई देखाउने, गाली गर्ने र असफल हुने कुनै सुविधा नेकपासँग छैन ।

चीनमा माओको पहिलो पुस्ताले समाजवाद निर्माणको सैद्धान्तिक एवं भौतिक आधार तयार पा(यो भने देङको दोस्रो पुस्ताले चिनियाँ विशेषतासहित समाजवाद निर्माण सुरु ग(यो । आजको पुस्ता सी जिनपिङको अगुवाइमा चिनियाँ राष्ट्रको बृहत् नवीकरण हासिल गर्न र समाजवादी आधुनिकीकरणलाई अगाडि बढाउने मार्गचित्रमा छ ।

नेपालमा भने यस्तो ऐतिहासिक मौका एउटै पुस्ताले पाएको छ । यी सबै अवसर तपाईंहरूको पुस्ताले पाएको छ । यो पुस्ता संघर्ष र अवसर दुवै हिसाबले भाग्यमानी ठहरिएको छ । यसर्थ, नयाँ पुस्ताले स्वाभिमानी, आत्मनिर्भर, विकासशील र समाजवादउन्मुख नेपालको बलियो जग तपाईंहरूकै पुस्ताबाट अपेक्षा गर्नु स्वाभाविक छ ।

नयाँ संविधान बनेपछि देशले राजनीतिक फड्को त मा(यो, तर त्यो फड्को अब जनताको दैनिकी र देशको समृद्धिमा प्रकट हुनैपर्छ । चुनावबाट देशभर स्थापित भएका कम्युनिस्ट सरकारले जनपक्षीय सत्ताका रूपमा काम गर्नैपर्छ । हरेक गाउँ र सहरबाट सकारात्मक सन्देश प्रवाह नगरी जनउत्तरदायी भूमिका खेलेको प्रमाणित हुन सक्दैन । शासकजस्ता जनप्रतिनिधि र सामन्तजस्ता नेताले त्यस्तो फरकपन दिनै सक्दैनन् ।

पुरानै ढर्राको निरन्तरता, जनता चुस्ने खेतीपाती, त्यही एकात्मक सोच र उही सामन्ती शैलीले क्रान्ति सम्पन्न भएको तथ्यलाई पुष्टि गर्दैन । कार्यशैली, व्यवहार र आचरणमा फरक देखिँदा मात्रै हिजो र आजमा फरक देखिने हो । नेकपा बन्नुको सार्थकता व्यवहारतः यसैबाट जाँचिनुपर्छ । यो सच्चाइलाई किमार्थ लत्याउन मिल्दैन । तसर्थ, जनताका सेवकरूपी जनप्रतिनिधि र जनउत्तरदायी सरकार बनाउने दिशातर्फ नेकपालाई हिँडाउनुको विकल्प नै छैन ।

माक्र्सले संकलन गरेको विचारको बिउ पुँजीसँगै नेपाली धर्तीका कर्मशील हजारौँ पुष्पलाल, मदन भण्डारी र मनमोहनहरू नेकपामा छन् । मदनले भनेझैँ विभिन्न क्षमता पहिचान गरी उनीहरूलाई उचित जिम्मेवारी दिन पार्टी चुक्नु हुन्न । लेनिनले विकास गरेको संगठनात्मक पद्धतिको मूल मर्म केही गरी भाँचिन दिनु हुन्न । पुष्पलालले थालेको वर्गसंघर्षको जगलाई अधुरो छाड्न हुन्न । जनताबाट सिक भन्ने माओको सारलाई लत्याउनु हुन्न ।

आजका जीवित माक्र्स, लेनिन र माओ भनेका निस्वार्थी श्रमजीवी जनता नै हुन् भन्ने आमसच्चाइ असली कम्युनिस्टले नकार्न हुन्न । नदी जतिसुकै लामो र गहिरो भए पनि मुहान सुक्दाको दिन सुक्नुपर्छ, पहाड जतिसुकै अग्लो भए पनि आधार छोड्दाको दिन भासिनुपर्छ । मुहान र आधार बिर्सने गल्ती कम्तीमा द्वन्द्वात्मक भौतिकवादीले गर्नु हुँदैन । जनताको रक्षा कवचबाट टाढिएर स्वार्थी समूहको एम्बुसमा पर्ने गम्भीर भुल नेकपा र यसको नेतृत्वले गर्नै हुँदैन ।

एकैछिन सोच्नुस् त, के नेकपा तपाईंहरूको कुस्ती धान्न सक्ने गरी बलियो भइसकेको छ र ? जनताहरू त्यस्ता दृश्य हेर्न उत्सुक छन् र ? देशको संविधान मौसम परिवर्तनपिच्छे इच्छाअनुसारका रेनकोट र छाता किन्न चाहिने तपाईंको पर्सको पैसा हो र ?

जनादेश भनेको भाँडाकुटी खेलेजस्तो खेलाँची हो र ? पार्टीलाई जीवन्त बनाउने बहसको प्रकृति यस्तै हुन्छ र ? यस्ता सयौँ प्रश्नको उत्तर खोज्न तपाईंहरूको धैर्य र संयम जरुरी छ । अरूलाई सम्हाल्नुपर्ने, देशलाई निकास दिनुपर्ने नेतृत्व तहलाई यसरी प्रश्न सोध्दा आफैँलाई नमीठो अनुभूति भएको छ । तपाईंहरूलाई तीतो प्रश्न गरेको निको हुनका लागि हो । यसमा कुनै स्वार्थ लुकेको छैन ।

विगतमा लोकप्रिय सरकार चलाएको अनुभव यहाँहरूसँगै छ । त्यस अनुभवलाई आजको चेतना र मागअनुरूप थप उचाइ दिनैपर्छ । समाजवाद स्थापनाको उडान भरेको जेटले आकस्मिक ट्रान्जिट खडा गरेर पाइलट फेर्न थाल्यो भने परिणाम के होला ? यात्रा पूरा होला वा रोकिएला रु सजिलै अनुमान लगाउन सकिन्छ । यसर्थ देश र पार्टीले लिने कुनै पनि निर्णय अस्थिरताको कारक बन्नु हुँदैन । गर्नैपर्ने थुप्रै काम थाँती राखेर गर्नै नहुने काममा अनावश्यक दहलफसल गर्नु व्यर्थ छ ।

अनुरोध छ, पार्टीभित्र देखिएको असमझदारीको भुंग्रोमाथि दुवै मिलेर पानी खन्याउनुस् । विरोधीहरूलाई मुखभरिको जवाफ दिनुस् । देश र जनताको हितको खातिर नयाँ उचाइबाट सोच्नुस् ।

(आचार्य अनेरास्ववियुका उपाध्यक्ष हुन्)

ताजा अपडेट

खोजी गर्नुहोस