प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज हुँदै, ५ घन्टामा हुनेछ शल्यक्रिया

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २१, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए । युरोलोजिस्ट डा उत्तम शर्मा, डा प्रेम ज्ञवाली, डा पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा अनन्तकुमार पनि सहभागी हुनेछन् । भारतीय चिकित्सक डा अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिएका छन् ।

निर्देशक डा खड्गाले प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने जानकारी दिँदै समय भने सर्जनहरूको टोलीले निश्चित गर्ने बताए । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि चलाउन थालिसकेको बताउँदै उनले मिर्गौला प्रत्यारोपण गर्नुअघि गरिने नियमित डाइलासिस भइसकेको जानकारी दिए । डा खड्गाका अनुसार प्रधानमन्त्री ओलीको क्रसम्याच, नियमित परीक्षण, विशेषज्ञहरूबाट हुने परीक्षण पनि भइसकेको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला पनि मङ्गलबार अस्पताल भर्ना भएकी छन् । उनको पनि स्वास्थ्य परीक्षण गरिएको डा खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न चार घण्टासम्म लाग्ने बताए ।
अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआइपी क्याबिनको ६०१ नम्बरमा प्रधानमन्त्री ओलीलाई राखिएको छ । निर्देशक डा खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी २० जना खटिने जानकारी दिए ।

नेपाली चिकित्सकमाथि भरोसा
प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौला प्रत्यारोपण नेपाली चिकित्सकबाट नेपालकै सरकारी अस्पतालमा गराउने निर्णयप्रति चिकित्सकहरूले खुशी व्यक्त गरेका छन् । वरिष्ठ मिर्गौला प्रत्यारोपणविद् डा ऋषिकुमार काफ्लेले प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण नेपालमै गराउनु नेपाली चिकित्सकमाथिको भरोसा भएको बताए । मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा डा। काफ्लेले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी राम्रो भएको प्रतिक्रिया दिए । यसैगरी वरिष्ठ चिकित्सक डा। सुन्दरमणि दीक्षितले प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपण नेपालमै गर्नु सुखद पक्ष भएको बताए । उनले भने “नेपालका नेताहरूले सानो रोग लाग्दा पनि विदेश गएर उपचार गर्ने गरेका छन् । पछिल्लोपटक प्रधानमन्त्री ओलीले लिनुभएको निर्णयले सुखद र सकारात्मक सन्देश दिएको छ । ”

ताजा अपडेट

खोजी गर्नुहोस