कोरोना भाइरसको प्रभाव औषधिमा, भारतले २६ प्रकारका औषधि आयात रोक्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभावका कारण भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । अब बजारमा औषधि अभाव खड्किने चिन्ता उपभोक्तामा बढेको छ । तर, औषधि व्यवस्था विभाग भने औषधि अभाव नखड्किनेमा विश्वस्त देखिएको छ । नेपाली बजारमा पर्याप्त मात्रामा औषधि रहेको भन्दै अभाव नखड्किने विभागले जनाएको छ ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले औषधि आयातकर्ता र औषधि उत्पादक संघलाई औषधिको विवरण जानकारी गराउन आग्रह गरिएको बताए । उनले भने, ‘तीन महिनासम्म अभाव खड्किँदैन भनेर जानकारी आइसकेको छ । केहीले औषधिको मौज्दात विवरण जानकारी गराउनुभएको छ ।’

औषधि आयातकर्ता संघ र नेपाल औषधि उत्पादक संघले कुनै पनि औषधि अभाव नखड्किने जनाएका छन् । औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालका अनुसार चालू आवमा कुनै पनि औषधि अभाव हुँदैन । उनले भने, ‘यो आर्थिक वर्षमा कुनै पनि औषधिको अभाव खड्किँदैन र औषधिको मूल्य पनि बढाउँदैनौं ।’

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार तीन–चार महिना पुग्ने गरी औषधि मौज्दात राखिएको छ । उनले भने, ‘कुनै पनि औषधि व्यवसायीले अप्राकृतिक रूपमा औषधि स्टकमा नराखौं । चीनले पनि औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न थालिसकेको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस