पुरा हुँदै ओली सपना : घरघरमा जोडियो ग्यास, ३२ घरमा जोडिएको पाइप सय घरमा पुर्‍याइँदै !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण १९, शनिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन १९,विराटनगर । महानगरको वडा नम्बर १४ स्थित जतुवाकी द्रोपदी यादवले पाइपबाट आएको ग्याँसबाट खाना पकाउन थालेको केही समय भयो उनि निकै खुसी छिन । कुनैबेला अहिलेका प्रधानमन्त्री केपी ओलीले पाईपबाट ग्याँस आउछ र त्यसमा खाना पकाउने हो भन्दा खिल्ली उडाएको उनि पनि सम्झिन्छिन । तर आज आफैले त्यसको प्रयोग गरिरहेकी छिन ।

भान्सामा आलु ताछ्दै द्रोपदीले भनिन् ‘अब हाम्रा पनि सुखका दिन आएजस्तै लागेको छ । अब ग्यास सकियो भन्दै सिलिण्डर बोकेर पसल–पसल चाहार्ने दिन गए ।’

द्रोपदीजस्तै जतुवाबासीका लागि अब सिलिण्डर बोकेर पसल चाहार्नुपर्ने दिन सकिएको छ । जतुवाबासीको घररघरमा पाइपलाइनबाट वायोग्यास पुगेपछि स्थानीयहरु ग्यास जोहोको लागि भौंतारिने दिनको अन्त्य भएको हो ।

भारतीय नाकाबन्दीको कहर झेलिरहेका आम नागरिकलाई आश्वस्त पार्दै गतवर्ष प्रधानमन्त्री ओलीले भनेका थिए, अब सिलिन्डर युग सकियो, प्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’

‘हावादारी सपना’ बाँडेको भन्दै ओलीको चर्को आलोचना भए पनि अहिले बिराटनगरको जतुवा इलाकामा भने सिलिन्डर युग सकिएको छ ।

जतुवामा रहेको श्रीकृष्ण गौशालाबाट निकालिएको वायो ग्यास एक किलोमिटर आसपासका क्षेत्रमा पाइपलाइनमार्फत स्थानीयका घर–घरमा वितरण गरिएको छ ।

पहिलो चरणमा ३२ घरले बिहीबारदेखि पाइपबाट आएको वायोग्यासबाट खाना पकाउन थालेकाछन् । थप सय घरमा वायो ग्यास पु¥याउने योजनासहित जतुवा क्षेत्रमा अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गरिएको छ ।

पाइपबाट वायो ग्यास वितरण गर्ने योजनासहित डेढ वर्ष अघिदेखि यो परियोजना निर्माण कार्य अघि बढाइएको थियो ।

तीन दशकदेखि सञ्चालनमा रहेको गौशालाबाट बायोग्यास निकालेर ‘परीक्षण स्वरुप ३२ घरमा चुलो वाल्ने काम शुरु गरेका छौं,’ श्रीकृष्ण गौशाला संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘परीक्षण काललाई अब नियमित गर्नेतर्फ लागेका छौं ।’

प्रत्येक घरमा दुईटा चुल्हो बाल्न मिल्ने सामान न्यूनतम मूल्यमा गौशालाले उपलब्ध गराएको छ । ३३ वर्षअघि ‘गाईको वृद्धाश्रम’ का रूपमा सुरु गरिएको गौसेवा सदनमा अहिले दुई सयभन्दा बढी गाई र बाच्छाबाच्छी छन्  ।

८५ लाख रुपैयाँ लगायतमा ग्यास प्लान्ट, पाइपलाइन र अन्य संरचना निर्माणको काम पूरा भएको छ  ।

ग्यासप्लान्ट जडान र अरू प्राविधिक कामका लागि भारतको गुजरातबाट आएका प्राविधिक र नेपाली प्राविधिकहरुले काम गरिरहेका छन् ।

गैशालाका व्यवस्थापक महिचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई र बाच्छाबाच्छीबाट दैनिक करिब २ हजार किलो गोबर निस्कन्छ । त्यही गोबरलाई जम्मा पारेर ग्यास प्लान्टमा राखिन्छ । त्यहाँबाट ग्यास उत्पादन गरी जम्मा गर्ने प्लास्टिकको ठूलो ट्यांकी जडान गरिएको छ । त्यसैबाट पाइपमार्फत घरघरमा ग्यास पुग्नेछ ।

एलपी ग्यासभन्दा सस्तो पर्ने दाबी

‘हामीले यो नाफा कमाउने उद्देश्यले गरेको होइन,’ अग्रवालले भने, ‘हरेक घरमा मिटर राखिएको हुन्छ, जति ग्यास प्रयोग हुन्छ, त्यही मिटरमा उठेको शुःल्क लिइनेछ र यो बजारमा पाइने एलपी ग्यासभन्दा गुणस्तरयुक्त हुन्छ र मूल्यमा पनि सहुलियत हुन्छ  ।’

एक सिलिन्डर बराबरको अर्थात् १४ केजी एलपी ग्यासको मूल्यभन्दा ३ सय कम पर्न जाने सञ्चालकहरु बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस