फाल्गुण २८, काठमाडौं । कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगार विभागले पनि मंगलबारदेखि श्रम स्वीकृति दिने कार्य बन्द गरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कतारको निर्णयअनुरूप विभागबाट प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताए । उनले कोरोना भाइरस प्रभावबाट उत्पन्न जोखिम हटेर अर्को सूचना जारी नभएसम्म कामदारका लागि प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित भएको जानकारी दिए ।
उनले मंगलबारदेखि नै संस्थागत एवं व्यक्तिगत दुवै श्रम स्वीकृति दिने काम बन्द भएको बताए । यसअघि करिब दुई महिनासम्म विभागबाट कतार जान ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । सोहीअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।