फाल्गुण २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएपछि आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा छन् । यद्यपि, डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकको निगरानीमा बसेर उनले पदीय दायित्वअनुसारको काम गर्न सक्ने चिकित्सकको भनाइ छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्रा।डा। दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई साधारण नागरिक जत्तिकै सक्रिय हुन अझै ६ महिना लाग्छ । ‘पहिलो एक महिना उहाँलाई औषधिको बढी डोज भएकाले संक्रमणको सम्भावना रहन्छ त्यसैले भीडभाडमा जानु जोखिम हुन्छ । ६ महिनापछि भने साधारण मान्छेझैं सक्रिय रूपमा जीवन बिताउन सक्नुहुन्छ,’ प्रा। डा। शाहले भनिन् ।
प्रधानमन्त्री ओलीले डिस्चार्जपछि दैनिक कार्यहरू सचिवालयबाटै गर्न मिल्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पारिवारिक निर्णयपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्जको तयारी थालिनेछ ।