सुनको मूल्य पाँच दिनमा ५५ सय रुपैयाँ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । सुनको मूल्य पाँच दिनमा प्रतितोला ५ हजार ५ सय रुपैयाँ घटेको छ । गत मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शनिबारसम्म घटेर प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

‘कोभिड–१९ ले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सिर्जना भएको छ,’ उनले भने, ‘सेयर मार्केट पनि घट्दो छ । अहिले सबैले डलरमा लगानी गरिरहेका छन् । त्यसैले डलर बढेर गएको छ । सुनको भाउ भने घटेको छ ।’ बजारमा मागभन्दा आपूर्ति बढी भएकाले सुन कारोबार हुन नसकेको उनको भनाइ छ । फागुनमा सुनको मूल्यले कीर्तिमानी पनि राखे । यो समयमा एक दिनमा सुनको मूल्य २ हजार २ सय रुपैयाँ बढेको र ३ हजार रुपैयाँ पनि घटेको शाक्यले बताए ।

‘सुनको मूल्यमा भएको गिरावटले घरेलु सुन कारोबारमा समेत असर पुगेको छ,’ उनले भने, ‘हिजोसम्म विवाहको लगन भएकाले आवश्यक पर्नेले किनिरहेका थिए । यसअघि सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँसम्म झर्ने संकेत देखिएको थियो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा अझ तल आउने विश्लेषण गरिएको छ ।’

घरेलु बजारमा बुधबार छापावाल सुन प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला १ हजार १ सय रुपैयाँ घटेर ८१ हजार २ सय रुपैयाँमा कारोबार भयो । शुक्रबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँ घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन शुक्रबार प्रतिऔंस १ हजार ५ सय ९० डलरमा कारोबार भएको थियो । शनिबारसम्म ३० डलर प्रतिऔंस घटेर १ हजार ५ सय ३० डलरमा कारोबार भयो । चीनबाट सुरु भएको कोभिड–१९ विभिन्न राष्ट्रमा फैलिएपछि आर्थिक गतिविधि घटेकाले सुनको मूल्यमा प्रभाव पारेको विश्लेषण गरिएको छ । भाइरसको संक्रमणले विश्व अर्थतन्त्रमा प्रभाव पारेपछि लगानीकर्ता डलरतर्फ आकर्षित भएका भएको जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा लगानीका अन्य क्षेत्र राम्रो हुन नसकिरहेको अवस्थामा डलरमा लगानीकर्ताको आकर्षण बढेको उनीहरूको विश्लेषण छ । कान्तिपुर अनलाइनबाट

ताजा अपडेट

खोजी गर्नुहोस