भारतले टमाटर किन्न थाल्यो, किसानले उत्पादन गरेको टमाटर निकासी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण २३, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन २३,पाँचथर । –एक महिनाभन्दा लामो समयदेखि भारत निकासी हुन नसकेको पाँचथरका किसानले उत्पादन गरेको टमाटर निकासी हुन थालेको छ ।

निर्यात सामग्रीको सूचीमा नपरेको भन्दै यहाँका किसानबाट उत्पादन भएको टमाटर भारतले निकासीमा रोक लगाएको थियो । अचानक टमाटर निकासी रोकिएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका किसानले फलाएको करोडौँ मूल्यको टमाटर बोटमै कुहिएको थियो ।

निकासी ठप्प भएपछि स्थानीय बजारमा टमाटर खपत हुन नसकेपछि बोटमै कुहिएको हो । टमाटरको भारत निकासी सहज बनाउन माग गर्दै किसानले केही दिनअघि टमाटर सडकमा फालेर साङ्केतिक आन्दोलन गरेका थिए ।

किसानले फलाएको टमाटर बोटमै कुहिन थालेपछि किसानको समस्याको वास्तविकता बुझ्न संघीय सरकारको वाणिज्य मन्त्रालय र प्रदेश सरकारको टोली केही दिनअघि यहाँका किसानसम्म पुगेका थिए । मन्त्रालयको टोली किसानसम्म पुगेर किसानको समस्यालाई मध्यनजर गर्दै भारतीय पक्षसँग समन्वय गरेर निकासीको वातावरण मिलाएको बताइएको छ ।

टमाटर भारत निकासी सुरु भएसँगै बारी र सडकमा कुहिने अवस्थामा रहेको टमाटर व्यापारीले उठाउन थालेका छन् । अहिले प्रतिकेजी ९ रुपैयाँमा टमाटर बिक्री भैरहेको याङवरकका किसान गंगा लिम्बूले बताए ।

टमाटरको निकासी खुलेसँगै किसानले राहतको महसुस गरेका छन् । केही वर्षदेखि टमाटरको सहज बिक्री र राम्रो मूल्य पाएकोले यहाँका किसान अन्य खेती बाली छाडेर टमाटर खेतिप्रति आकर्षित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस