कोभिड-१९ महामारीः डर, चिन्ता र तनाव व्यवस्थापन

  • अनलाइन केन्द्र
  • / विचार/विश्लेषण /
  • २०७६ चैत्र २३, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आर. के ढुंगाना

जताततै कोरोनाकै चर्चा छ । हुनु स्वभाविकै पनि हो । विश्वका २०८ मुलुक तथा भूभागमा संक्रमण फैलिएकोे छ । विश्वको करिव तीन चौथाई जनसंख्या महामारीको प्रत्यक्ष मारमा परेका छन् । एघार लाख भन्दा बढिको संक्रमण, ६० हजार माथिको मृत्यु अनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकान्तबास वा बन्दाबन्दीको मारमा करोडौँ नागरिक । विश्वव्यापी फैलिएको कोरोनाले महामारी मात्र ल्याएको छैन्, संगसँगै अनिश्चित भविष्य, डर, चिन्ता, तनाव र संत्रास पनि सँगै ल्याएको छ । चाहे भूकम्प, बाढि,पहिरो, युद्धको चपेटा वा रोगको महामारी, यि सवै विपत्तिले नकारात्मक भावना, संवेगहरु उत्पन्न गराउँछ । डर र चिन्ताले सताउँछ, वर्तमानको असजता र भविष्यको अनिश्चितताले तनाव उत्पन्न गराउँछ । यस्तो बेलामा कुनै न कुनै प्रकारको डर, चिन्ता, भय र तनावले बच्चा, युवा, प्रोढदेखि बुढेसकालसम्मको मनमष्तिष्कमा आश्रय लिएको हुन्छ । महामारीको समयमा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्नु अति आवश्यक हुन्छ । महामारी या विपत्तिमा आउने नकारात्मक संवेग र आवेगहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे यस लेखमा चर्चा गर्न खोजिएको छ

आफूलाई विश्वास गरौँ, आत्मबल उच्च राँखौ, रोगसँग लड्ने क्षमता बढाऔं  ।
महामारीको समयमा आफूलाई बचाउने सवैभन्दा उत्तम र विना लगानीको उपाय भनेको आफ्नो आत्मबल उच्च राख्नु हो । भनिन्छ, उच्च मनोवलले भाइरसको आक्रमणलाई प्रतिरोध गर्नेमात्र नभइ शरीरमा प्रवेश गरे पनि त्यसको प्रभाव निस्प्रभावी बनाइदिन्छ । तपाई र तपाईको परिवार विगत २ हप्तादेखि स्वास्थ्य सुरक्षा अपनाउदै बन्दाबन्दीको उपयोग तथा एकान्तबासमा हुनुहुन्छ, विदेशबाट आएका व्यक्तिसँग भेटघाट भएको छैन् भने विश्वास गर्नुहोस् तपाईमा कोरोनाको खतरा लगभग छैन् । अबको दायित्व भनेको आफू र परिवारका सदस्यहरु सवैले लकडाउनको नियम पालना गर्ने, सकेसम्म सन्तुलित खाना खाने, घरभित्रै योग ध्यान गर्ने र रोगसँग लड्ने शक्ति बढाउने हो । तपाई सचेत हुनुहुन्छ, तपाईले गलत स्वास्थ्य प्रणाली अपनाउनु भएको छैन् भने डराउनु पर्ने कुरै छैन् । परिवारसँग हुनुहुन्छ, पर्याप्त समय दिइरहनु भएको छ भने अन्य चिन्ता लिनु बेकार हुन्छ किनकी यो विश्वव्यापी महामारी हो । आफ्नो कावुमा नभएको कुराको चिन्ताले केहि फाइदा गर्दैन् । बरु समयको उपयोग गर्नुहोस्, आगामी दिनका लागि योजना बनाउनुहोस्, चिन्तन गर्नुहोस् । बाँकी रह्यो, तनावको । तनाव विभिन्न कारणबाट उत्पन्न हुन्छ, जस्तो कि, तपाईको व्यवसाय चौपट हुदैछ वा आर्थिक अवस्था डामाडोल भएको छ । यो त सायद अर्वौ मानिसको भएको छ । सवैले खेपेको मार तपाईको भागमा पनि परेको छ । तनावले यसको समाधान दिदैन् बरु डिप्रेशनमा पु¥याउँछ । फुर्सदको समय छ, आर्थिक मन्दी र व्यवसायलाई आउँने दिनमा कसरी हालको क्षति पूर्ति गराउने गरी काम गर्ने भनेर अध्ययन अनुसन्धान तथा उपायको खोजि गरौँ । सँसारमा असम्भव भन्ने केहि हुदैँन भन्ने मान्यतालाई विश्वास गरी भविष्यका लागि तयारी गरौँ । प्रभावकारी योजना बनाउँदै गरौँ ।

महामारीको प्रभाव बुँझौ, चिन्ताको कारणलाई चिनौँ, सकारात्मक सोच राँखौ ।
हामी विश्वव्यापी महामारीको लगभग मध्यतिर छौँ । यो समय सवैका लागि डरलाग्दो र चिन्ताको समय हो । प्राय देशहरु बन्दाबन्दीमा छन् । नेपालमा पनि लकडाउनको समय चलिरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा, मान्छेको मर्ने सँख्या उच्च हुदैँ जादाँ आम मानिसमा यसको फैलावटको अवस्था, नियन्त्रणको सम्भाव्यता, आफूँ र आफ्नो परिवारमा पर्ने स्वास्थ्य समस्या तथा आर्थिक संकट लगायतले मानसिक स्वास्थ्य जोखिममा छ । यस्तो अवस्थामा सवै डर, चिन्ता र तनावको समाधान तपाईकै सोच, कर्म र बुझाइमा भर पर्दछ । महामारीको प्रभाव बढ्दै गइरहेकाले भविष्यको संनिकट संकटका लागि आँफूलाई तयारी अवस्थामा राख्न जरुरी छ । हामी आँफै दायित्व बहन गर्ने अवस्थामा छौ, अभिभावकीय भुमिका निभाइरहेका छौ भने त झन सचेत बन्नुपर्छ । तपाई आफै डर,चिन्ता र तनावले ग्रस्त भए तपाईमा निर्भर हुनेलाई कसले आश्वासन दिने ? आफ्नो जिम्मेवारी बोध गर्नुहोस्, आफ्नो सवल पक्षको खोजि गर्नुहोस, जे हुन्छ रामै्र हुन्छ भन्ने आदर्शलाई गम्नुहोस् जसले तपाई आत्मबल बढाउन सहयोग गर्दछ ।

चुनौतिलाई अवसरको रुपमा उपयोग गरौँ ।
कोरोना महामारी हामी सवैको चुनौति हो । यसलाई सवै मिलेर नै सामना गर्दै जानुपर्दछ । लकडाउनले दिएको पर्याप्त समयलाई डराएर, चिन्ता लिएर वा तनावमा बसेर विताउने होइन् । महामारीको चुनौतिलाई यदि हामीमा कुनै कुलत, दुव्र्यसनी छ भने त्यसलाई त्यागेर सत्मार्गमा लाग्ने समयको रुपमा उपयोग गर्न सकिन्छ । अध्येताहरुले अध्ययन, अनुसन्धान तथा पूस्तक लेखन, लेखरचना तथा गीतको सिर्जना गरेर सदुपयोग गर्न सकिन्छ । रोजगारीमा रहेका हरुले आफ्नो कामलाई कसरी अझ प्रभावकारी बनाउने भनेर योजना बनाउन सकिन्छ । विद्यार्थीहरुले यो समयलाई विभिन्न माध्यमबाट पढ्ने, युट्युवबाट खोजी गरी राम्रो नबुझेका पाठ पढ्ने, विभिन्न तरिकाहरु सिक्ने गरेर परीक्षा र भविष्यका लागि तयारी गर्न सकिन्छ ।

विगतको विपत तथा गरिएका अभ्यासलाई स्मरण गरौँ, अनुभव बाडौँ ।
कोभिड–१९ को महामारीका कारण उत्पन्न डर,चिन्ता र तनावलाई व्यवस्थापन गर्ने अर्को उपाय भनेको विगतको सम्झना गर्नु र त्यसबाट पाठ सिक्नु पनि हो । हामीले केहि बर्ष अगाडी मात्र भूकम्पको सामना ग¥यौ, बाढि पहिरो, आगजनी, हुरीबतास या आऊँ, हैजा, झाडापखाला जस्ता रोगको विपत पनि सामना गरेर नै आएको हो । अग्रज अथवा अभिभावकहरुले आफुभन्दा सानाहरुलाई त्यस समयको अनुभवहरु बाँडेर पनि डर, चिन्ता र तनावलाई न्यूनीकरण गर्न सकिन्छ । झन त्यस बेला त अहिलेको जस्तो इन्टरनेट लगायत सामाजिक संजाल पनि थिएन्, विभिन्न साधनहरु पनि थिएन ।त्यस समय अपनाइएको उपाय या अनुभवहरुले अहिलेको महामारीसँग जुध्ने आट, साहस वटुल्न सहज हुन्छ ।

सकेसम्म एक्लै नबसौँ, परिवारसँगै बसौँ, भलाकुसारी गरौँ
यदि कोरोनाको संक्रिमत होइन्, सम्भावित उच्च जोखिमको अवस्था बाहेक घर परिवारका सदस्यहरु एक्लाएक्लै बस्नुपर्छ भन्ने छैन् । एल्लै बस्दा झन मनमा अनेक कुराहरु खेल्ने,त्यसले डर बढाउने र तनावको अवस्था सिर्जना गर्ने हुन्छ । यस्तो अवस्थामा परिवारसँगै बस्ने, सँगै खाना खाने, भलाकुसारी गर्ने, भित्र खेल्न मिल्ने खेलहरु खेल्ने गर्न सकिन्छ ।

लकडाउन रुटिन बनाउनुहोस् । पालना गर्नुहोस् ।
अहिलेको समय सामान्य अवस्थाभन्दा फरक हो र यसलाई सोही अनुरुप व्यतित गर्नुपर्दछ । त्यसका लागि लकडाउन अवधीभरका लागि एउटा समय तालिका बनाउनु उपयुक्त हुन्छ । उठ्ने, योग ध्यान गर्ने, घरको काम गर्ने, भान्सामा काम गर्ने, सामाजिक संजालमा विताउने, पूस्तक पढ्ने, लेख्ने, साथीभाइ, आफन्तसँग कुरा गर्ने, समाचार अपडेट हुने, फिल्म हेर्ने, परिवारका सदस्यहरुसँग भलाकुसारी गर्ने, घरको करेसाबारीमा काम गर्ने,योजना बनाउने लगायतको कार्यका लागि रुटिङमा समावेश गर्न सकिन्छ । उत्पादनमूलक काम तथा पछि पनि काम लाग्ने क्रियाकलापमा बढि समय छुट्टाउने, मनोरञ्जनात्मक कुरामा आवश्यकताअनुसार समय तय गर्ने तथा अर्थहिन काममा सकेसम्म समय नदिने गर्नाले लकडाउनको समय सदुपयोग गर्न सघाउँछ । रुटिन बनाएर मात्र पनि हुदैन, यसको पालना पनि गर्नुपर्दछ जसले भावी दिनमा पनि समयको सहि पालना गर्न उत्प्रेरित गर्न सहयोग गर्दछ ।

अरुसँग सम्पर्कमा रहनुहोस्, आफन्त, साथीहरुसँग कुरा गर्नुहोस् ।
भनिन्छ, खालि दिमाग, सैतानको घर । जति हामी फुर्सदमा हुन्छौ, त्यति हाम्रो मनमा विभिन्न कुराहरु खेल्न थाल्छ, विगतलाई सम्झन्छौ, भविष्यको चिन्ता गछौँ अनि स्वभावत हामीमा डर, त्रास र तनाव उत्पन्न हुन सक्छ । यस्तोमा हामीले आफूलाई जतिसक्दो केहि न केहि कुरामा व्यस्त राख्न सक्यौ भने समय पनि व्यतित हुन्छ, डर, चिन्ता र तनावको पनि व्यवस्थापन हुन्छ । यसका लागि लकडाउनलाई सदुपयोग गर्दै दिनको एउटा समय आफन्त साथीहरुसँग सम्पर्क गर्ने, हालखवर सोध्ने तथा विभिन्न दुःखसुखको कुरा गर्न सकिन्छ । यस्तो गर्दा एक त सम्बन्ध विकास हुन्छ, कुरा गर्दा, अनुभव बाड्दा मन शान्त र हलुका हुन्छ साथै समयको उपयोग हुन्छ जसले गर्दा हामीमा महामारीका कारण उत्पन्न हुन सक्ने डर, चिन्ता तथा तनाव न्यूनीकरणमा सहयोग पुग्दछ ।

भरपर्दो सुचनाको पहुँचमा रहनुहोस्, समाचारमा आशक्ति नदेखाउनुहोस् ।
विश्वभर नै कोरानाले असर गरेको र कहिल्यै नभोगिएको लकडाउनको सामना गर्न परेकाले हामीलाई क्षणक्षणमा कहाँ के भयो ? कति मरे ? कति रोगको संक्रमणमा परे ? नेपालमा के भयो ? लगायतको समाचारमा अपडेट हुन मन लाग्छ । अहिले विश्वभरि नै भएनभएका समाचार, गलत तथ्य र सुचना दिने अनलाइन, सामाजिक संजाल प्रयोगकर्ताको विगविगि नै छ । गलत सुचना र समाचारले हाम्रो डरलाई बढाइदिन्छ, तनाव सिर्जना गरिदिन्छ । भरपर्दो माध्यमबाट मात्र सूचना तथा समाचार सुन्ने हेर्ने गर्नुपर्दछ । समाचार बुझ्ने भनेर यसमा पटकपटक हेर्ने, सुन्ने गरेर आशक्ति देखाउनुहुदैन् । सूचित हुनु राम्रो हो तर समाचारमा मरिहत्ते गर्नु राम्रो कुरा होइन् । सूचना र समाचारलाई सिमितता गर्नु सम्भावित तनावबाट टाढा रहने उपाय हो । यो समय डर, चिन्ता र तनावले स्वभावत मानिसमा डेरा गरेर बस्न सक्ने जोखिमको बेला हुनाले बन्दाबन्दी समयको उच्चतम सदुपयोग नै आजको आवश्यकता हो । यसका लागि ठाउँ परिस्थिति हेरेर अध्ययन गर्ने, नाच्ने, गाँउने, उपयोगी चलचित्र, डकुमेन्ट्री हेर्ने, खेल खेल्ने, हाँस्य भिडियो हेर्ने, सम्भव भए प्रकृतिसँग रम्ने, खेतबारीमा काम गर्ने, करेसाबारीमा काम गर्ने गरेर समयको सदुपयोग गरि सम्भावित डर, चिन्ता र तनावलाई कम गर्न तथा व्यवस्थापन गर्न सकिन्छ । सकिन्छ भने धेरै नै मारमा परेका,आवश्यकता भएका मानिसहरुलाई सहयोग गर्दा पनि सहयोग गरेपछि उत्पन्न हुने रसायनले तनाव व्यवस्थापन गर्नमा सहयोग गर्दछ । डर, चिन्ता र तनावको उत्पादन हुने कारखाना पनि हामी सँगै छ र यसको व्यवस्थापन तथा न्यूनीकरण गरि खुसि र सुखि हुने उपाय पनि हामीसँगै छ । आफ्नो सामथ्र्य बेलैमा चिनौ, सम्भावित चुनौतिको सामना गर्नका लागि तयारी गरौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस